'मलाई किन चाहियो त्यो तारा
मेरो चन्द्रमा छौ त तिमी
सायद जादु छ तिम्रो आँखामा'
एक वर्षघि प्रिन्सले फोनमा रेकर्ड गरेर 'माया' गीत युट्युबमा अपलोड गरे। त्यतिबेला खासै भ्युज नपाए पनि पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी टिकटकमा उक्त पङ्ति भाइरल नै बन्यो। केही समयअघि मात्रै उनले सो गीतको म्युजिक भिडिओ समेत निकालिसेकेका छन्।
सुदूरपश्चिमको अछाममा जन्मेका १८ वर्षीय प्रिन्स देउकिडीको बाल्यकाल काठमाडौंमै बित्यो। प्रिन्सले माया गीत नौ कक्षामा हुँदा लेखेका थिए। त्यसबेला उनले एक जना युवतीलाई मन पराउँथे। सो भावना नै उनले गीतमार्फत व्यक्त गरेको प्रिन्स बताउँछन्।
'त्यतिखेर मैले एक जना केटीलाई मन पराउँथेँ। त्यही भएर त्यो गीत लेखेको थिएँ,' उनले भने, 'अनि होस्टलबाट छुट्टीमा आएको बेला गीत रेकर्ड गरेर युट्युबमा अपलोड गरेको थिएँ।'
स्कुले जीवन अधिकांश समय होस्टलमै बितेको उनी बताउँछन्।
अन्तरमुखी स्वभावका प्रिन्स आफ्नो भावनाहरू शब्दमा लेखेर डायरीमा व्यक्त गर्थे। छुट्टीमा घर आउँदा भने उनी होस्टलमा बस्दा डायरीमा लेखेका गीतहरू गाउँथे, एडिट गर्थे र युट्युबमा हाल्थे। त्यसपछि उनी फेरि होस्टलको जीवनमा फर्कन्थे।
पहिलोपटक उनले 'चन्द्रमा' बोलको गीत अपलोड गरेका थिए।
'घरमा युट्युबमा गीत अपलोड गरेर होस्टल फर्किएँ,' उनले भने, 'एकदिन साथीहरूले मेरो गीतमा चार हजार भ्युज आएछ भनेर सुनाएका थिए। त्यो सुन्दा एकदमै खुसी लाग्यो। अनि साथीहरूले कमेन्टहरू देखाए। त्यो पनि एकदमै राम्रो राम्रो आएको थियो, जुन मैले कल्पनै गरेको थिइनँ।'
तर एकपटक स्कुलमा इन्टरस्कुल सिङ्गिङ कम्पिटिसनमा पहिलो भएपछि भने परिवारले पनि प्रिन्सले गीत गाउने कुरा थाहा पाए।
बिस्तारै दिनहरू बित्दै गए। उनले आफूले बनाएका गीतहरू अपलोड गर्दै गए। सोही क्रममा उनले 'हतास' गीत उपलोड गरे। जसले केही चर्चा समेत बटुल्यो।
उनी सार्वजनिक रूपमा खासै देखा पर्दैनन्। पहिले त उनी सामाजिक सञ्जालमा पनि थिएनन् तर अहिले भने चलाउँछन्। अहिले १२ कक्षा पढिरहेका प्रिन्सको योजना गीतसंगीत क्षेत्रमा नै केही गर्ने योजना छ। त्यसका लागि मेहनत समेत गरिरहेको उनी बताउँछन्।
'हाम्रो नयाँ प्रोजेक्टहरू पनि आउँदै छ,' उनले भने, 'त्यसपछि ब्याण्डसँग मिलेर शोहरू गर्ने योजना पनि छ।'
हेर्नुहोस् भिडिओः