गुड फ्राइडे सिनेमा
'एक्स्ट्रा' कलाकारका रूपमा सिनेमामा प्रवेश गरेका विजय सेतुपति 'आम मान्छेसँग जोडिएका हिरो' (मकल सेल्वन) भनेर चिनिन्छन्।
सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका उनले सन् २००० को 'थेनमेरकु परूवाकातरू' मा पहिलो पटक मुख्य भूमिकामा काम गरे। यो फिल्मले तीनवटा नेसनल अवार्ड जित्यो। यसपछि केही फिल्म खेलेका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को 'पिज्जा' हो।
पछिल्ला एक दशकमा विजयले पाएको सफलता लोभलाग्दो छ। सकारात्मक होस् वा नकारात्मक, जस्तोसुकै भूमिकामा काम गर्दा उनी पात्रअनुसार ढल्न सक्छन्। विजय एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधामा फिट अभिनेता हुन्।
'सुपर डिलक्स' मा ट्रान्सजेन्डर बनेर उनले नेसनल अवार्ड जिते। ब्लकबस्टर 'मास्टर' मा ग्याङस्टरको भूमिकामा देखिए। 'पेट्टा' फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग 'टक्कर' लिएका थिए। विजयले कमल हसनको मुख्य भूमिका रहेको 'विक्रम' मा खलपात्रको भूमिका निर्वाह गरे। उनको अभिनयको खुबै तारिफ भयो।
अमेजन प्राइममा रिलिज भएको वेबसिरिज 'फर्जी' मार्फत् उनले बलिउडमा डेब्यु गरे। शाहिद कपुर र केके मेननसँगै विजयको पनि मुख्य भूमिका रहेको फर्जीले राम्रो प्रतिक्रिया पायो। यसमा विजय प्रहरी अधिकारीको भूमिकामा छन्।
यसपछि उनी शाहरूख खानसँग 'जवान' मा देखिए। यो फिल्ममा विजयले नकारात्मक भूमिकामा 'आइकनिक' र दमदार अभिनय गरे। त्यसपछि कट्रिना कैफसँग 'मेरी क्रिसमस' खेले। यो फिल्म पनि दर्शक र समीक्षकले खुबै रूचाए। तीन महिनाअघि मात्र रिलिज भएको उनको फिल्म 'महाराजा' ले त सर्वत्र चर्चा कमायो।
अहिले भारतीय भाषी फिल्मबाहेक अरू नहेर्ने दर्शकमाझ पनि विजयको चर्चा बढ्दै गएको छ।
विजयका केही राम्रा फिल्महरू युट्युबमा हेर्न सकिन्छ। यस्तैमध्ये एउटा 'का पे रणसिंघम' आज गुड फ्राइडे सिनेमामा हामीले सिफारिस गरेका छौं। यो फिल्ममा विजयसँगै अभिनेत्री ऐश्वर्य राजेशको मुख्य भूमिका छ। फिल्ममा ऐश्वर्यको अभिनय विजयको भन्दा कम छैन।
तमिल भाषाको यो फिल्म वास्तविक घटनामा आधारित राजनीतिक फिल्म हो। एउटा शवलाई केन्द्रमा राखेर यसले खराब राजनीतिक प्रणाली, भ्रष्टाचार र खराब कर्मचारीतन्त्रले पारेको असर देखाउँछ।
फिल्मको सुरूआत सावित्रीकी छोरीको कान छेड्ने कार्यक्रमबाट हुन्छ। उनका श्रीमान रणसिंघम आफ्नो परिवारको घर खर्च धान्न दुबई गएका हुन्छन्। रणसिंघम आफ्नो परिवारलाई खुसी र सुखी राख्न बेला बेला सामान पठाइरहेका हुन्छन्। तर आफूले भनेको मोबाइल नपाएर उनकी बहिनी माया रिसाउँछिन्।
कार्यक्रम भइरहेका बेला माया छुट्टै एकान्तमा बसिरहेकी हुन्छिन्। त्यति बेलै केही सरकारी कर्मचारीले उनलाई आफ्नो दाइको मृत्यु भएको खबर सुनाउँछन्।
उनी चिच्याउँदै हडबडाउँदै अरू सबै जना भएको ठाउँमा जान्छिन् र चिच्याउँदै भन्छिन्, 'भाउजू, दाइ रहनु भएन।'
रमाइलो माहोल एकाएक स्तब्ध र हृदयविदारक हुन्छ। गाउँका सबै व्यक्तिहरू रणसिंघमको मृत्युको खबरले रोइरहेका हुन्छन्।
रणसिंघम निःस्वार्थ भावनाले गाउँलेहरूको हरेक समस्या समाधान गरिदिन्थे। उनी गाउँकै निडर व्यक्ति थिए। उनका अगाडि जति नै ठूलो सत्ता शक्ति भएको व्यक्ति किन नहोस्, आफ्नो हकका लागि आन्दोलन गर्न पछि पर्थेनन्।
उनी कोही दु:खी भएको पनि हेर्न सक्थेनन्। घर झगडादेखि गाउँका समस्या समाधान गर्न लागि पर्थे।
तर एक दिन एउटा घटनामा कसैले उनको कुरा सुन्दैनन्। अनि रणसिंघम दुबई पुग्छन्।
दुबईमा उनको मृत्यु कसरी हुन्छ?
यसपछि उनकी श्रीमतीले के गर्छिन्?
यसका लागि फिल्म 'का पे रणसिंघम' हेर्नुहोस्।
फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोस्