कुनै काम योजना नबनाइ गर्दा कस्तो हुन्छ? आज जे गर्यो, भोलि त्यही गर्न कति आवश्यक हुन्छ?
यस्तै कुरा मनमा खेलाइरहेका थिए संयोग गुरागाईं।
यो अलमललाई उनले नाटकको माध्यमबाट प्रस्तुत गरेका छन्।
नाटक हो – रेल्वे टू नोह्वेर। (कुनै गन्तव्यबिनाको रेल्वे)
'मान्छेहरू आफ्नै तनावमा हुन्छन्। नाटक हेर्न आउँदा पनि कहिले कथा लादेर पठाउँछौं त कहिले सामाजिक सन्देश। तर मलाई कति अर्थका कुरा गर्नु, अब अर्थबिनाका कुरा गरौं न भन्ने लागिरहेको थियो,' संयोगले भने, 'यस्ता कुरा एब्सर्ड अवधारणामा हुन्छ। नाटकमा एब्सर्डको प्रयोग कम हुन्छ। त्यसैले म प्रयोगमा ल्याउने प्रयास गरिरहेको छु।'
उनका अनुसार 'एब्सर्ड' अवधारणा फ्रान्सेली दार्शनिक, नाटककार, पत्रकार तथा लेखक अल्बर्ट कामुले प्रयोगमा ल्याएका थिए। यो अवधारणामा उनले तीनवटा मार्ग दिएका छन्। पहिलो- मृत्यु मार्ग रोज, दोस्रो- केही कुराले पनि अर्थ राख्दैन भने आफ्नो मनमर्जी गर तर कुनै एउटा धर्ममा लाग र तेस्रो- जे छ त्यही स्वीकार गर।
संयोगको नाटकमा भने यी तीन मार्गभन्दा केही फरकपन भेटिन्छ। उनले आफ्नो नाटकमा वास्तविकता र एब्सर्डिजमको बीचको धार रोजेका छन्।
'मैले यसलाई अर्ध असंगत भनेको छु। केही कुरा तुक लाग्ने पनि छन्। यो नाटकले राजनीति र अर्थतन्त्रलाई व्यंग्य गर्छ। त्यसैले कतै न कतै कथा हो जस्तो लाग्न सक्छ,' उनले भने।
संयोगलाई केही हुने या आउने आशमा कुरिरहेका मान्छेको कथा भन्ने रहर थियो, जहाँ पर्खिनेबाहेक अन्य कुनै काम नहोस्। केही समयअघि उनी एक नाटक मञ्चनको सिलसिलामा भारत पुगेका थिए। त्यहाँ उनले रेल कुरिरहेका मान्छे देखे।
झट्ट उनको दिमागमा आइहाल्यो – यिनीहरू सबै एउटै कुरा पर्खिरहेका छन्।
उनले आफ्नो नाटकमा रेल्वेको सेट तयार पारे जहाँ सात जना पात्र एकै कुराको पर्खाइमा छन्। त्यो कुरा भएपछि उनीहरूको जीवन सहज हुन्छ भन्ने उनीहरूलाई लागेको छ। पात्रहरूको कथा कसरी अगाडि बढ्छ, यसका लागि नाटक रेल्वे टू नोह्वेर हेर्नुपर्छ।
यो नाटक असार २१ देखि २३ गतेसम्म मण्डला थिएटरमा चल्ने 'म्याड फेस्ट' मा मञ्चन हुँदैछ।
संयोगले लेखेको र निर्देशन गरेको नाटकमा आरजु खरेल, समिसान जिसी, सुमित्रा पेहिम, सागर खाती 'कामी', उमेश सुनाम, भुवन लोहार 'भूपी', सिरपा मानन्धर, आभास भट्टराई लगायतको अभिनय छ।
इलाममा जन्मिएका संयोगलाई सानैदेखि नयाँ मान्छेसँग कुरा गर्न रूचि थियो। जब उनको गाउँमा टेलिफोन र रेडियो (एफएम) व्यापक हुँदै गयो, उनी रेडियोमा आउने हरेक फोन कार्यक्रममा सहभागिता जनाउँथे।
कसैलाई जन्मदिनको शुभकामना दिन होस् या केही भन्न, उनी कुनै मौका छाड्दैन थिए। उनी रेडियोको एक कार्यक्रमको विजेता पनि भएका थिए। उनलाई उपहार लिन बोलाइएको थियो तर लाज मानेर गएका थिएनन्। पछि बुबाले थाहा पाएर जान भनेपछि गए।
त्यही उपहारले संयोगलाई नयाँ मोडमा पुर्यायो। उपहारमा नृत्य सिक्ने अवसर पनि थियो। अरूले तीन महिनाको १५ सय रूपैयाँ तिर्नुपर्थ्यो, उनले सात सय रूपैयाँ तिर्दा पुग्थ्यो। उनले नाच सिके। उनी स्कुलमा हुने नाटकमा पनि खेलिहाल्थे। उमेरसँगै संयोगमा अभिनयको रहर हुर्किँदै गयो।
१२ कक्षा पढेपछि भने फेसन डिजाइनर पढ्ने सोचेर उनी काठमाडौं आए। खर्च धेरै लाग्ने देखेर गाउँ नै फर्किए। तीन महिनापछि फेरि काठमाडौं नै बस्ने सोच लिएर आए। रत्नराज्य कलेज भर्ना भएर पढ्न थाले।
अभिनय क्षेत्रमा सम्पर्क बढाउँदै जाँदा उनलाई सिक्किममा देखाउने नाटक खेल्ने अवसर आयो। तर उनीहरूले थिएटरकै कलाकार लिने भनेका थिए। संयोगसँग अनुभव थिएन। उनले चिनजानका मनोजकुमार राईलाई यो कुरा भने। मनोजले उनलाई मण्डला थिएटर लगे।
'मैले हेरेको नाटक त बुझिनँ तर नाजिर हुसेनको अभिनय खुब नियालेर हेरेँ। नाजिरमा आफ्नै छवि देखेँ,' उनले भने, 'म पनि अभिनय गर्न सक्छु भन्ने भयो!'
यसपछि उनी बिहान नाटक सिक्न थाले, दिउँसो कलेज पढ्न गए। यो समयमा उनलाई कहिलेकाहीँ निकै समस्या पर्थ्यो। उनी बस्ने घरको ढोका छिट्टै बन्द हुन्थ्यो। कहिलेकाहीँ ढिला हुँदा उनी बाहिरै पर्थे। कति रात उनले सडकमै बिताए।
'त्यसरी रात बिताउनु पर्दा म मान्छे धेरै हुने ठाउँ खोज्थेँ। कहिले पशुपति त कहिले एयरपोर्ट पुगेँ,' संयोगले भने।
यसरी नै सिक्दै, पढ्दै उनले अहिलेसम्म २५ वटा नाटकमा अभिनय गरिसकेका छन्।
तीनवटा नाटक आफैले निर्देशन गरेका छन् भने चारवटाको कथा लेखेका छन्।
यसबाहेक वेबसिरिज 'हाम्रो हाई स्कुल' र '२१ लभ' मा पनि अभिनय गरेका छन्।
रेल्वे टू नोह्वेर उनको निर्देशन रहेको तेस्रो नाटक हो।