गुड फ्राइडे सिनेमा
यो मट्टो पाल र उनको साइकलको कथा हो।
मट्टो हरेक दिन आफ्नो साइकल लिएर अन्य सहरमा मजदुरी गर्न जान्छन्। एक दिन काम भएन भने दुई छाक टार्न धौधौ पर्छ। उनका परिवारमा श्रीमती र दुई छोरी छन्।
मट्टोको सहारा हुन्छ थोत्रो साइकल। बिग्रिरहने उक्त साइकल बनाउँदै उनी काममा गइरहेका हुन्छन्। जसोतसो गुजारा चलिरहेको हुन्छ।
एक दिन एक्कासि उनकी श्रीमती बिरामी हुन्छिन्। मट्टो श्रीमतीलाई साइकलमै चढाएर अस्पतालसम्म पुर्याउँछन्। तर गाउँमा उनको उपचार हुँदैन। डाक्टरले उनलाई सहरमा लगेर उपचार गर्न सुझाउँछन्।
उनीसँग श्रीमतीको उपचार गर्ने पैसा हुँदैन। आफन्तसँग सापट लिएर उनी सहरतिर लाग्छन्। थप उपचारका लागि उनले श्रीमतीको झुम्का बेच्छन्।
ऋणले गलिरहेका मट्टोले खासै राम्रो काम पनि पाउँदैनन्। एक दिन काम गरेर फर्किँदै गर्दा उनी सडक छेउमा साइकल राखेर तरकारी किन्न थाल्छन्।
त्यही बेला उनको जीवनमा ठूलो विपद आइलाग्छ।
मट्टो बाटोमा रूँदै कराउँछन्। गुहार माग्दै हिँड्छन्। बाटोमा चौकीदारी गरेर बसिरहेका प्रहरीसँग विनय गर्छन्। गाउँका प्रधानको घर पुग्छन्।
उनको मद्दत कसैले गर्दैन।
उनको आशा र भरोशा टुट्छ।
यसपछि उनले के गर्छन्?
'मट्टो कि साइकिल' को कथा यही हो।
एक गरिबको समस्यामा कसैलाई चासो हुँदैन। उनीहरूबाट फाइदा हुने बेला वरिपरि घेरिने ठूलाबडा र नेताहरू अरू बेला उनीहरूलाई देख्न पनि चाहँदैनन्। फिल्मले यही कुरा देखाउन खोजेको छ।
एम गनीले निर्देशन गरेको यो फिल्मका मुख्य पात्र मट्टोको भूमिका प्रकाश झाले निर्वाह गरेका छन्। झा आफै पनि चर्चित निर्देशक तथा निर्माता हुन्।
प्रकाशले यो भूमिका निर्वाह गर्न मैला लुगा लगाएर, गाउँतिर एक्लै डुलेका थिए। मजदुरहरूसँग भेटेर, उनीहरूसँग कुरा गरेर, दुःख बुझेर उनले आफूलाई मजदुर मट्टो बनाएका थिए।
यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा कमाएको थियो। भारत र नेपालसहित विभिन्न देशका फिल्म महोत्सवहरूमा पनि यो फिल्म प्रदर्शन भएको छ।
हेर्नुहोस् युट्युबमाः