गुड फ्राइडे सिनेमा
प्रकाश राथोड मुम्बई पुलिस कमिस्नर हुन्। उनी अवकाश पाउँदैछन्। आफ्नो प्रहरी करिअरको अवधिमा उनले सबभन्दा धेरै चुनौती सामना गरेको घटना कुन होला?
यो फिल्म उनको यही व्याख्याबाट सुरू हुन्छ।
एक जना अनजान व्यक्ति मुम्बईको छत्रपति शिवाजी टर्मिनस रेलवे स्टेसनमा एउटा झोला बोकेर पुग्छन्। उनको झोलामा बम भएको अनुमान लाउन सकिन्छ। अनि उनी आतंकवादी होलान्!
उनले त्यो झोला मुम्बई प्रहरी प्रधान कार्यालयको ठ्याक्कै सामुन्नेको पुलिस स्टेसनमा छाड्छन्।
त्यसपछि एउटा बन्दै गरेको अग्लो भवनको छतमा पुग्छन्। त्यहाँ उनको आधुनिक उपकरणसहितको सानोतिनो कार्यालय नै हुन्छ।
त्यहाँबाट उनी विभिन्न सिमकार्ड झिकेर कमिस्नर राथोडलाई फोन गर्छन्। उनले मुम्बईका पाँच प्रमुख ठाउँमा बम राखेको र चार घन्टाभित्र पालैपालो पड्किने जानकारी दिन्छन्।
यसवापत् उनको माग हुन्छ — चार आतंककारीको रिहाइ।
राथोडले ती व्यक्तिको ठाउँ पत्ता लगाउन टिम खटाउँछन्। प्रहरी चौकीभित्रकै शौचालयमा बम देखेर उनी फोन गर्ने व्यक्तिप्रति गम्भीर हुन्छन्। उनको खोजी तीव्र पार्छन्।
त्यही बेला बम राख्ने व्यक्तिले भने पत्रकार नैनालाई फोन गरेर यो उनको जीवनकै महत्त्वपूर्ण दिन हो भन्दै केही निर्देशन दिन्छन्।
उता राथोड केही गर्न नसक्ने भइसकेका हुन्छन्। त्यसैले फोन गर्ने व्यक्तिको मागअनुसार उनले भनेका चार जना आतंककारीलाई छाड्छन्। प्रहरी अधिकारीहरू आरिफ र जयले उनीहरूको स्कर्टिङ गरेर भनेको ठाउँसम्म पुर्याउँछन्।
तर जसै उनीहरू त्यहाँ पुग्छन्, सोच्दै नसोचेको घटना हुन्छ।
अझ, फोन गर्ने व्यक्तिले पछि यस्तो माग राख्छन् जसले राथोड र पूरा प्रहरी विभागलाई झस्काइदिन्छ।
त्यो माग पूरा नगरी राथोडले धर पाउँदैनन्।
जसै त्यो माग पूरा हुन्छ, ती व्यक्तिले फोन गरेर यस्तो जानकारी दिन्छन्, जुन सुनेर राथोडको होस हवास उड्छ।
यी सबै हुँदै गर्दा राथोडको टिमले पनि उनी भएको ठाउँ र सम्भावित अनुहार पत्ता लगाइसकेका हुन्छन्।
यसपछि राथोडले के गर्लान्?
के ती व्यक्ति पक्राउ पर्लान्?
आखिर को हुन्छन् उनी?
यी सबै रहस्य जान्न फिल्म 'अ वेड्नसडे' हेर्नुपर्छ।
यसको नाम अ वेड्नसडे राखिनुमा पनि विशेष कारण छ।
रहस्यमयी र थ्रिलर कथा बुन्न खप्पिस निर्देशक निरज पाण्डेको फिल्म हो यो। उनले आफ्नो विशेषता यो फिल्ममा भरपुर दर्शाएका छन्। सुरूदेखि अन्तसम्मै दर्शकलाई धुकचुक बनाएर राख्ने रहस्य यो फिल्ममा छ।
यही फिल्मका लागि पाण्डेले नेसनल फिल्म अवार्ड्स पनि पाए।
कमिस्नर राथोडको भूमिका अनुपम खेर र फोन गर्ने व्यक्तिको भूमिका नसिरूद्दिन शाहले निर्वाह गरेका छन्। दमदार अभिनय गर्ने यी दुई कलाकारका कारण फिल्म पनि दमदार बनेको छ।
सन् २००८ मा रिलिज भएको 'अ वेड्नसडे' समीक्षक र दर्शक दुवैबाट प्रशंसा पाउन सफल फिल्म हो। अर्को वर्ष यसको तमिल र तेलेगू रिमेक पनि बने। यति मात्र होइन, सन् २०१३ मा यही फिल्मको रिमेक श्रीलंकाले पनि बनायो।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंलाई यही रोचक फिल्म 'अ वेड्नसडे' सिफारिस गरेका छौं।
हेर्नुहोस् युट्युबमाः