सन् २०१९ मा गत शुक्रबारको दिन अर्थात् डिसेम्बर २९ मा पत्ता लागेको कोरोना भाइरसले विश्वलाई त्राहित्राहि बनायो।
यसले मानिसलाई मात्रै अँठ्याएन, बन्द–व्यापार चौपट भयो। मानिसहरू घरभित्रै बस्न बाध्य भए। कोरोनाले जतिको प्राण निमोठ्यो, त्यसभन्दा बढी यसले मानिसको जनजीवन बिथोल्यो।
कोरोना त्रासदीले सबैतिर अस्तव्यस्त तुल्याइरहँदा र जीवनको लय खज्मजिएका बेला तनहुँका याबेश थापालाई भने यसले त्राण थियो।
भनौं न, कोरोना महाव्याधि उनका लागि वरदान सावित भयो।
याबेश बाल्यकालदेखि नै गीत–संगीतको रागसँगै हुर्किए। मौका मिल्नासाथ उनी गीत लेख्थे। त्यसमा संगीत भरेर गुनगुनाउँथे पनि।
उनले २०७७ पुसको दोस्रो साता उनले गीत रेकर्ड गराए। यबेशले सात कक्षामा पढ्दा नै गीत लेखेका थिए। त्यसलाई गुनगुनाउँदा गुनगुनाउँदै आउँदो बनाइसकेका थिए। तर त्यसले जीवन पाउन सकेको थिएन।
त्यसैलाई संगीत भरे रेकर्ड गर्ने सोच बनाएका थिए। र, उनी स्टुडियो पुगेका थिए। ‘लाखौं हजारौंमध्ये’ बोलको गीत उनले रेकर्ड गरे।
अफसोस! जतिबेला उनले गीत रेकर्ड गरे। कोरोना महामारी नेपाल भित्रियो। देशव्यापी लकडाउन भयो।
अंग्रेजी नयाँ वर्षको दिन पारेर पहिलो गीत युट्युबमा हालेका थिए।
गीतले दस हजार जति भ्युज बटुल्यो भने सिर्जनाले सार्थकता पाउने सोचेका थिए।
गीतले कल्पनाको परिधि नाघेर सफलता पाएको उनी ठान्छन्।
‘मैले १० हजार जति मान्छेले हेर्नुभयो भने पनि ठीकै छ, बिस्तारै राम्रो हुँदै जान्छ भन्ने सोचेर गीत निकालेको थिएँ,’ उनले सेतोपाटीसँग ती क्षण सम्झँदै भने, ‘गीतले नसोचेको सफलता पायो। म एकदमै खुसी छु।’
सिर्जनाबाट पहिलो झमटमै स्वाद चाखेका याबेश युवामाझ एकाएक परिचित आवाज बन्न पुगे। सरल शब्द, श्रुतिमधुर स्वरले युवा मनलाई सम्मोहित तुल्यायो।
त्यतिबेलाको रोचक अनुभूति पनि उनले हामीसँग पनि बाँडे।
‘घरबाहिर निस्कँदा मेरो अनुहार कसैले पनि चिन्दैनथे,’ उनले त्यो अनुभूति सुनाउँदै भने, ‘तर म पुगेको ठाउँमा मेरै गीत घन्किरहेको हुन्थ्यो। कसैकसैले त त्यही गीत गाइरहेको पाउँथेँ। उहाँहरूलाई गायकको नाम त थाहा हुन्थ्यो। गायक नचिनेकाले म त्यहीँ हुँदा पनि ठम्याउनु हुन्नथ्यो। त्यतिबेला मलाई एकदमै खुसी लाग्थ्यो।’
दस हजारले मात्रै हेर्लान् भनेर संगीत भरेको गीतले १० लाखभन्दा बढी हेरिएपछि उनी उत्साहित हुनु स्वाभाविकै भयो। सँगै उनलाई दोस्रो गीतको दबाब बढेको अनुभूति भयो।
पहिलो गीत सफलताको चुलीमा पुगे पनि उनले दोस्रो गीतबारे सोचेका थिएनन्। गीतै नभएको होइन। डायरीभरि गीत थिए। कुन गीतमा काम गर्ने भन्नेचाहिँ अन्यौल थियो।
त्यतिबेला उनलाई क्लासिक प्रोडक्सनका प्रबन्धक ज्योति श्रेष्ठले अर्को गीत तयार बनाउन हौस्याइरहेका थिए। उनी दबाबमा देखेर श्रेष्ठले तनाव नलिई काम गर्न सुझाइरहन्थे।
‘तिमी जति धेरै सोच्छौ त्यति कामहरू बिग्रिँदै जान्छ,’ ज्योतिले उनलाई भन्थे, ‘तिमीलाई जे मन लाग्छ त्यही गर्दै जाऊ, धेरै सोचेर दिमागलाई भारी नपार!’
व्यावसायिक सांगीतिक दुनियाँमा भर्खरै २१ वर्षमा हिँडिरहेका यबेशले बल्ल बुझे–तनावले सिर्जनालाई खुम्च्याउँदो रहेछ!
दिमागलाई लयमा फर्काएर उनले दोस्रो गीतको तयारी गरे।
पहिलो गीत माया–प्रेमसँग सम्बन्धित थियो। दोस्रो गीत जीवनको आरोह–अवरोहलाई रोजे। उनले ‘झरी’ को छनोट गरे।
झरी जसले प्रकृतिलाई सिञ्चन पनि गर्न सक्थ्यो! कहर थमाउन पनि सक्थ्यो।
जीवन भोगाइको उतारचढावलाई अभिव्यक्त गर्न उनले यसैको सहारा लिए।
झरीले पनि उनलाई आशातीत सफलता दिलायो। पहिलो गीत सार्वजनिक भएको तीन महिनामा दोस्रो सांगीतिक सौगात पस्किएका थिए। त्यो पनि दस लाखभन्दा बढी पटक हेरिने गीतको रूपमा दर्ज भयो।
दंग परे यबेश।
‘जीवनको कुनै न कुनै मोडमा मान्छेले एक्लै महसुस गर्छ नै,’ उनले झरीको रचनागर्भ सुनाउँदै भने, ‘यो गीत आममानिसको जीवन भोगाइबारे हो। त्यसैले गीतसँग धेरै मान्छेहरूले आफूलाई कनेक्ट गरे।’
पहिलो गीतले सफलताको खुट्किला चढेपछि उनी संगीतमै समर्पित भएर लाग्ने निधो गरिसकेका थिए।
गीत–संगीतको लतले पढाइको बाटो रोकियो।
२०७८ मा उनी कम्प्युटर एप्लिकेसनमा स्नातक गर्र्दै थिए। उनले चटक्कै छाडे।
दोस्रो गीतले सफलताको राम्रै उडान भरेपछि उनले बोध गरे– म गीत–संगीतकै लागि जन्मिएको रहेछ। म हिँड्ने बाटो यही हो।
‘गीत–संगीतमै केही गर्छु भनेर कलेज ड्रपआउट गरेँ,’ उनले भने, ‘अहिले हेर्दा त्यसो गर्न हुँदैनथ्यो कि भन्ने लाग्छ, त्यतिबेला दुईवटै गीत सबैले रूचाइदिनुभएर सहज भयो। तर सबैको त्यस्तै हुन्छ भन्ने हुँदैन। मैले गरेको जस्तै काम कसैले नगर्नूहोला।’
तनहुँ पुर्ख्यौली घर भएका यबेशको जन्म काठमाडौंमा इसाइ परिवारमा भयो।
हरेक शनिबार उनी चर्च जान्थे। चर्चका दाइहरूले गीतार बोकेर गाएको देख्दा उनी लोभिन्थे– ‘काश मैले पनि यसरी नै गाउन सके!’
सानैदेखि जिज्ञासु स्वाभाव र कौतूहलताले भरिएका उनी नयाँ कुरा सिक्न उत्साहित हुन्थे। कसैले केही गरेको देखे कसरी भयो होला भन्ने चाख राख्थे। त्यसैले सानैदेखि देखे र सुनेको भरमा गीत–संगीतमा चाख बस्यो, अहिले त यही नै जीवन बन्न पुगेको छ।
‘चर्चमा दाइहरूले गीत गाउँदा कसरी गाए होला भन्ने लाग्थ्यो,’ उनले भने, ‘बिस्तारै मैले पनि सिकेर दाइहरूसँगै चर्चमा भजनहरू गाउन थाले। अनि क्रिस्चियन ब्यान्डसँग आबद्ध भएँ र गाउने अवसर पाएँ।’
यबेशका अनुसार उनले त्यहाँ धेरै कुराहरू सिक्ने मौका पाएँ। त्यहाँको काम गराइ एक किसिमको सांगीतिक जीवनको पाठशाला नै बन्न पुग्यो उनको!
सानैदेखि चर्चको संगीतमय वातावरणले नै हो यबेशलाई संगीत क्षेत्रमा डोर्याएको।
त्यसमाथि उनकी आमा स्वयं चर्चमा गीत गाउँथिन्। जसले गर्दा उनलाई झन् संगीत क्षेत्रमा लाग्न झन् प्रेरित गरेको उनी बताउँछन्। त्यसैले होला उनले सात कक्षामा पढ्दा नपढ्दै उनी गीतका हरफमा डोहोरिने थालिसकेका थिए।
‘सानोमा अरूको गीतहरू गाउँदा एकदमै कठिन महसुस हुन्थ्यो,’ उनले भने, ‘अरूले गाएको गीत गाउन कठिन भएपछि आफैंले गीत बनाएर गाउँछु भन्ने लाग्यो। किनकि, अरू नसकेँ पनि सुर र तालमा गाउन सक्छु भन्ने आत्मविश्वास थियो।’
अरूको गीत गाउन कठिन भएकै कारण गीत लेख्न सुरू गरेका हुन् उनले।
गीत लेख्दालेख्दै उनले सोचिसकेका थिए उनले– यिनमा संगीतको प्राण भर्नेछु।
त्यतिबेला गीत–संगीतको आधारभूत ज्ञानबारे भने उनी अनभिज्ञ थिए।
त्यो उपक्रम झन्डै सात वर्षसम्म चल्यो।
संगीतमा लाग्ने उनको हुटहुटी दिन दुगुणा रात चौगुणा बढ्दो थियो। गीतको भोक अझ बढाउन लेखेका गीतहरू मोबाइलको भ्वाइस रेकर्डमा रेकर्ड गर्थे । पटकपटक सुन्थे।
संगीतमा तीव्र भोक–प्यास जागिरहेकै बेला उनलाई खोज्दै क्लासिक प्रोडक्सन आइपुगेको थियो। जुन उनको आवाज मुखर गर्ने र युवावयको मनमनसम्म फिँजाउने माध्यम पनि बन्यो।
‘राम्रो माइक र सिस्टममा आफ्नो गीत रेकर्ड गराउने रहर पहिलेदेखि नै थियो,’ उनले भने, ‘मसँग रेकर्ड गर्न आवश्यक पर्ने राम्रो सामग्री थिएन। सधैं फोनमा रेकर्ड गरेर सुन्थे। त्यहीबेला क्यासिक प्रोडक्सनसँग भेट भयो र त्यहीँ आबद्ध भएँ।’
त्यहीँबाट उनले पहिलो गीत ‘लाखौं हजारौंमध्ये’ गीत निकालेका थिए। जसले अत्यधिक चर्चा विशेष गरी युवावयबाट बटुलेको थियो।
‘कोरोनाको समयमा सबैको काम ठप्प थियो। नेट चलाउनेको संख्या बढेर होला मेरो गीत धेरैमाझ पुग्यो,’ कोरोना काल फलिफाप बनेको प्रसंग पुनः सुनाउँदै उनले भने, ‘अर्कातिर त्यसबेला सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि मलाई सबैमाझ पुर्याउन सहयोगी बन्यो कि!’
धेरैलाई उनको पहिलो गीत नै हिट भयो भन्ने लाग्छ। तर त्यसका लागि लामै बाटो हिँडेको उनको बुझाइ छ।
‘मैले पहिलो गीतबाटै होइन, गीत लेख्न थालेको सात वर्षपछि सफलता पाएको थिएँ। जग बलियो बनाउन र लेखनकला सुधार्न सात वर्ष लगाएको थिएँ,’ उनले प्रष्ट्याए।
सुरूआती दिनहरूमा परिवारका सदस्यले यबेशलाई गीत–संगीतमा नलागे हुन्थ्यो भनेर नठानेका होइनन्। उनीहरूले मुख फोरेर भन्न नसके पनि अनुहारको भावभंगिमाले त्यसै भन्थ्यो।
‘परिवारमा पढ्नुपर्छ भनेर भन्नुहुन्थ्यो,’ उनले भने, ‘गीत–संगीतमै लागेर के गर्न सकिन्छ र भन्ने शंका उहाँहरूमा थियो,’ उनले भने, ‘न रोकतोक गर्नुभयो न त सपोर्ट नै। तर म आफ्नै हिसाबले निरन्तर लागिरहेँ।’
छोराले कुनै विषयमा डिग्री लिएको होस् भन्ने आमाबाको इच्छा थियो। त्यसैले उनलाई स्नातकोत्तरसम्म पढ्न घच्घचाइरहेका हुन्थे। पढ्दापढ्दै चटक्क छाडेकाले तत्काल त सम्भावना छैन। तर, निकट भविष्यमै संगीतमै डिग्री लिने योजना चाहिँ बनाएका छन्।
‘छोरो संगीतमा लाग्यो भनेर सुरूमा आमाबुवाको मनमा हलचल पैदा नभएको होइन,’ उनले भने, ‘जब देश विदेश गएँ, संगीतबाट कमाइ हुन थाल्यो, उहाँहरू अनुहारमा खुसी देखिएको छ।’
सानैदेखि उनको मनमा एल्बम निकाल्ने रहर सञ्चित थियो। यद्यपि, अहिले एल्बमको उपादेयता कमजोर भइसकेको छ। तर उनको मनमा भने आफ्नै नामको एल्बम निकाल्ने रहर अद्यापि जीवित छ।
त्यसैले २०८१ मा ‘घामछाया’ नामक एल्बम निकाल्ने योजनामा छन्। जसका लागि विभिन्न विधाका गीतहरू तयार पनि पारिरहेका छन्।
गीत– संगीतमा रुचि भएकाले उनलाई कसरी गीत रेकर्ड गर्ने भनेर सोध्ने गरेको उनले बताए।
‘आफ्नो इच्छा र सपनालाई निरन्तर पछ्याउने हो भने एकदिन सफलता अवश्य मिल्नेछ। अहिले नयाँ रचनाकारमाथि लगानी गर्ने मान्छेहरू पनि भेटिन्छन्। अहिले तपाईंले उनीहरूलाई नभेटेको हुनसक्नुहुन्छ। रहरको बाटो हिँड्न नछाड्नूस्। कुनै दिन तपाईंलाई खोज्दै आउनेछन्,’ उनले अन्तिममा भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी