सीमा सुवेदी चितवन मेडिकल कलेजकी डाक्टर हुन्। बुटवल घर भएकी उनी नारायणी कला मन्दिरको मञ्चमा भरतनाट्यम नृत्य गर्दै गरेको भेटिइन्।
उनी गीत, संगीत र नृत्यमा चासो त राख्थिन्। तर यी तीनै कुरामा उनलाई सामान्यभन्दा बढी ज्ञान थिएन। नारायणी कला मन्दिरको मञ्चले उनलाई दर्शकसामू भरतनाट्य नृत्य प्रस्तुत गर्ने साहस जुटाइदियो।
नृत्य निर्देशक संघ नेपालको चितवन शाखा र कला मन्दिरले गरेको भरतनाट्यम तालिममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरू सहभागी थिए। यी संस्थाले नेपालमै पहिलो पटक नृत्यमा विद्यावारिधी गर्दै गरेका स्वजन रघुवंशीलाई प्रशिक्षक बनाएर पाँच दिनको प्रशिक्षण सञ्चालन गरेका थिए।
‘नृत्यमा चासो थियो, कहिले काहीँ नृत्यसम्बन्धी कार्यशालामा सहभागी पनि भएकी छु तर मैले नृत्यलाई आध्यात्म र योगको एउटा माध्यमकारुपमा मात्रै लिँदै आएकी थिएँ,’ सुवेदीले भनिन्, ‘टेलिभिजनहरूमा मात्रै हेर्दै आएको भरतनाट्यम नृत्यको प्रशिक्षण आफ्नै ठाउँमा हुन लागेको सुनेपछि उत्साहित भएर आएकी थिएँ।’
उनले आधारभूत तालिम लिएपछि यसको थप प्रशिक्षण पनि लिने इच्छा जागेको बताइन्। सुवेदीले अस्पतालको काम सकेपछिको समय नृत्यको प्रशिक्षणमा खर्च गरेकी थिइन्।
नृत्यमा चासो राख्ने १० वर्षदेखि ५६ वर्षसम्मका व्यक्तिहरू यो प्रशिक्षणमा सहभागी थिए। ५६ वर्षीय लिलाराज थापा पुराना नर्तक हुन्। केही वर्षअघिसम्म उनी लोक नृत्य सिकाउँथे। तर पछि उनी यो काम छाडेर अन्य व्यवसायमा व्यस्त हुन थाले।
नारायणी कला मन्दिरमा भरतनाट्यम नृत्यको प्रशिक्षण हुँदैछ भन्ने थाहा पाएपछि उनले यसलाई छाड्न चाहेनन्। १० वर्षे बालकसँग उभिएर लिलाराजले पनि भरतनाट्यम नृत्यको प्रशिक्षण लिए।
आफ्नो नृत्यको माध्यमबाट दर्शकलाई मोहित बनाउँदै आएका नारायणी कला मन्दिरका नृत्य निर्देशक सुमित लामाका लागि पनि भरतनाट्यम नृत्य भने नयाँ थियो। यो अवसर उनले पनि किन छाड्थे र। अन्य प्रशिक्षार्थीको लहरमा उनी पनि पुगिहाले।
‘मैले २० वर्ष अघिदेखि कला मन्दिरसँग जोडिएर नृत्य गर्न थालेको थिएँ। १२ वर्ष अघिदेखि सिकाउन थालेँ। अन्य धेरै नृत्यहरूको प्रशिक्षण दिने गरेको छु। तर भरतनाट्यम सिक्न चाहेर पनि पाएको थिइनँ,’ लामाले भने, ‘निकै प्रतीक्षा पछि आएको अवसर मैले छाडिनँ।’
केही वर्षअघि उनले कत्थक नृत्यको आधारभूत प्रशिक्षण पाएका थिए। त्यसपछि उनले अन्यलाई कत्थक पनि सिकाउन थाले।
भरतनाट्यमको आधारभूत प्रशिक्षण पाएका उनले अब आफूले जानेको कला अन्यलाई पनि सिकाउने बताए।
नृत्य निर्देशक संघ नेपालको चितवन शाखाका अध्यक्ष पुष्पकुमार श्रेष्ठकाअनुसार भरतनाट्यम नृत्य कलामध्येको पुरानो र अप्ठ्यारो नृत्य हो। नेपालमा निकै कम व्यक्तिले मात्रै यो नृत्य गर्न सक्छन्। यो नृत्य गर्ने पुरुषको संख्या झनै कम छ।
यो नृत्य भारतका शास्त्रीय नृत्यको एक प्रमुख विधा हो। जुन भरत मुनिको नाट्य शास्त्र (४०० ईशा पूर्व)मा आधारित छ। भरतनाट्यमलाई सबैभन्दा प्राचीन नृत्य मान्ने गरिन्छ। यो नृत्य शैली तमिलनाडु क्षेत्रका हिन्दू मन्दिरबाट उत्पत्ति भएको मान्ने गरिन्छ।
श्रेष्ठले यो नृत्यको महत्व धेरै रहेपनि युवा पिँढीलाई बुझाउन नसकिएको बताए।
‘नेपालमा पश्चिमा संस्कृतिले बढवा पाइरहेको छ। तर शास्त्रीय संगीत र नृत्यको जति महत्व छ त्यसलाई युवाले बुझ्न सकेका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्तालाई शास्त्रीय नृत्यको महत्व बुझाउन हामीले प्रशिक्षण दिएका हौं।’
उनले यो प्रशिक्षणको माध्यमबाट शास्त्रीय नृत्यको विकासमा टेवा पुग्ने दाबी गरे।
नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुविर श्रेष्ठले चार दशकदेखि कला, संस्कृति, साहित्यको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको कला मन्दिरले पहिलो पटक भरतनाट्यमको प्रशिक्षण सञ्चालन गर्न पाएको बताए।
‘नृत्य अभिव्यज्नको मूल खम्बा मानिने भरतनाट्यम छोटो अवधिमै सिकेर मञ्चन गर्ने कलाकारहरू अब हाम्रा गहना हुन्। यस्तै गहनाहरू उत्पादन गरेर नेपाली कलाको बहुआयामिक उत्थानलाई प्रोत्साहन दिन नारायणी कलामन्दिर सधैं प्रयास गर्छ,’ उनले भने।
नृत्य प्रशिक्षक स्वजन रघुवंशीले पुराना नृत्यहरूलाई नयाँ पुस्ताले भुलिरहेको बताए। नेपालकै पुराना नृत्य र भरतनाट्यम, कत्थक जस्ता शास्त्रीय नृत्यको महत्व धेरै भए पनि नयाँ पुस्ताको आकर्षण यसमा कम रहेको उनी बताउँछन्। उनले लोप हुँदै गरेका सयौं वर्ष पुराना नृत्यहरू एकल साँझमार्फत् पनि प्रस्तुत गर्ने गरेका छन्। कार्तिक नाच, चर्या नृत्य, झ्याउरे, भरतनाट्यम, कत्थक, साल्सा नृत्यमा उनी पोख्त मानिन्छन्।
‘युवाहरूलाई यसको महत्व बुझाउन सकिन्छ कि भनेर देशका विभिन्न ठाउँहरूमा पुगेर प्रशिक्षण दिने गरेको छु,’ उनले भने।
रघुवंशीले दुई वर्षदेखि भारतबाट भरतनाट्यममा विद्यावारिधी गरिरहेका छन्। उनले कत्थक नृत्यमा स्नातक गर्नुका साथै गोल्ड मेडल हासिल गरेका छन्। प्रयाग संगीत समिति इलाहाबादबाट कत्थक नृत्यमा सिनियर डिप्लोमा गरेका उनले सिर्जना कलेज अफ फाइन आर्टबाट भरतनाट्यम, चर्या र लोक नृत्य विषयमा स्नातक गरेका छन्। उनले भारतको बनारस हिन्दु विश्वविद्यालयमा गएर भरतनाट्यम पढेका थिए।
‘एक वर्षमा मेरो पिएचडी पनि सकिन्छ। त्यसपछि नेपालमा शास्त्रीय नृत्यको विकासमा पूर्णरूपमा लाग्छु,’ रघुवंशीले भने, ‘मेरो इच्छा नेपालमा धेरै युवाहरूलाई शास्त्रीय नृत्य सिकाउने छ।’