गुड फ्राइडे सिनेमा
नवाजुद्दिन सिद्दिकी दमदार अभिनयका लागि चर्चित छन्। जस्तो सुकै भूमिका होस्, उनी त्यसमा खरो नउत्रिएको कुनै पात्र होला सायद!
सन् १९९९ मा 'सरफरोश' र 'शूल' जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका उनले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाउनु पर्यो। बलिउड 'हिरो' मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
सन् २०१० मा 'पिप्ली लाइभ' र २०११ मा 'पतंग: द काइट' जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा 'देख इन्डियन सर्कस' फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को 'तलाश', 'कहानी' र 'ग्यांग्स अफ वासेपुर' जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ हुन्छ।
दमदार अभिनयकै बलमा उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्। उनले आफूलाई बलिउडकै सबभन्दा उम्दा अभिनेताका रूपमा स्थापित गरिसकेका छन्। सहायक अभिनेता, खलपात्र वा मुख्य अभिनेता, सबैखालका भूमिकामा उनी सफल छन्। फिल्म व्यावसायिक रूपमा सफल होस् वा असफल, नवाजुद्दिनको करिअरमा त्यसको खासै असर परेको देखिन्न।
आफूले निर्वाह गर्ने चरित्रको मनोदशाअनुसार अभिनय गर्नु, 'डायलग डेलिभरी' र 'बडी ल्यांग्वेज' मा पनि पात्रअनुसारकै हेरफेर ल्याउनसक्ने नवाजुद्दिनले बलिउडको 'हिरो' को परिभाषालाई फराकिलो बनाएका छन्।
पर्दामा हिरो नभएर चरित्रअनुसारको जीवन बाँच्ने कलाकार हुन् नवाजुद्दिन। आज गुड फ्राइडे सिनेमामा हामीले उनकै एउटा फिल्म सिफारिस गरेका छौं।
जिन्दगीको महत्वपूर्ण निर्णय लिने बेला मान्छेसँग अर्को विकल्प त हुन्छ, तर ती विकल्पबारे रोजीछानी निर्णय लिने पर्याप्त समय नहुन सक्छ। तर हामीलाई बेलाबेला यो नभएको भए के हुन्थ्यो? यस्तो भएको भए कस्तो हुन्थ्यो भन्ने लागिरहन्छ। तपाईंले पनि त्यस्ता वैकल्पिक निर्णय र परिणामबारे सोच्नुभएकै होला।
फिल्म 'मनसुन सुटआउट' का मुख्य पात्र आदी (विजय वर्मा) का बुबाले भनेका हुन्छन्, 'जिन्दगीमा तीन बाटो हुन्छन्- सही, गलत र बीचको बाटो। र, यो बाटो चुन्न सजिलो छैन।'
यो फिल्मको मुख्य कथा नै यही भनाइको सेरोफेरोमा छ।
आदीले प्रहरीमा जागिर सुरू गरेलगत्तै खुंखार अपराधी शिवा (नवाजुद्दिन) सँग आमने-सामने हुन्छ। त्यति बेला उनी गोली चलाउने कि नचलाउने दुबिधामा पर्छन्।
सही, गलत वा बीचको कुन बाटो हिँड्ने?
उनको यो दुबिधाका तीनवटै सम्भावना फिल्ममा देखाइएको छ। यस मानेमा यो प्रयोगवादी फिल्म हो।
इन्काउन्टरको मानवीय क्षतिलाई प्रहरी र अपराधी दुवै पक्षको पाटोबाट हेर्ने प्रयास हो यो फिल्म।
नामजस्तै फिल्मका मुख्य घटनाको पृष्ठभूमिमा पानी परिरहेको दृश्य आइरहन्छ जसलाई कलात्मक रूपमा खिचिएको छ। नकारात्मक र डरलाग्दो भूमिकामा देखिने नवाजुद्दिनको अभिनय यसमा पनि सशक्त छ। बन्चरो लिएर मान्छे काट्ने यस्तै भूमिकामा उनी यसअघि 'बाइपास' नामको छोटो फिल्ममा पनि देखिएका थिए।
सन् २०१३ को कान्स फिल्म महोत्सवमा प्रदर्शित र प्रशंसित यो फिल्म २०१७ मा मात्रै सार्वजनिक भएको थियो।