काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को २२ औं संस्करण बुधबारदेखि सुरू भएको छ।
फेस्टिभलको उद्घाटन समारोहमा जेरेमी पावर रेगेम्बलद्वारा निर्देशित 'बिट्विन द माउन्टेन एण्ड द स्काइ' प्रदर्शन गरिएको थियो। सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोयनको जीवनकथामा आधारित यो डकुमेन्ट्री हाल संयुक्त राष्ट्र अमेरिकामा प्रदर्शनरत रहेको छ र नेपालमै पहिलो चोटि हेर्ने मौका किम्फले जुराएको छ।
यो पाँच दिने फेस्टिभलमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी फिल्म ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक हल र जीएए हलमा एकसाथ आयोजना हुनेछ।
'हामी यी फिल्म मार्फत फरक संस्कृतिलाई एक ठाँउमा ल्याएर एक आपसमा जोड्न चाहन्छौं,' किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले उद्धाटन समारोहमा भनेकी थिइन्।
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले पनि किम्फप्रति बोर्डको प्रतिबद्धता व्यक्त गर्दै फिल्म संस्कृति आदानप्रदानको माध्यम बनेको उल्लेख गरे।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाको उपस्थिति पनि थियो। उनले किम्फ जस्ता चलचित्र महोत्सवको महत्वमा प्रकाश पार्दै, नेपाली फिल्म उद्योगको समग्र विकासमा सहयोग पुर्याउने धारणा राखिन्।
उद्घाटन समारोह जुरी सदस्यहरूद्वारा परम्परागत घन बजाएर सम्पन्न गरिएको थियो।
उद्घाटन कार्यक्रम अघि, काठमाडौं डक ल्याब अन्तर्गत दक्षिण एशियाका ९ वृत्तचित्रहरूको प्रत्यक्ष पिचिङ सेसन सम्पन्न भयो। यी ९ वृत्तचित्रमध्ये उत्कृष्ट तीनवटा छान्ने जिम्मेवारी निर्देशक तथा उद्यमी भास्कर ढुंगाना, अलायन्स फ्राँसेस काठमाडौंकी लुसी डे बारोस, कथाहरूकी कार्यकारी निर्देशक स्मृति बस्नेत र निर्देशक टिन डिर्डामल सहितको निर्णायक टोलीले लिएका छन्। डक ल्याबका प्रशिक्षक: क्यानडाकी चलचित्रकर्मी अनाम अब्बास, भुटानी निर्देशक अरूण भट्टराई र भारतीय फिल्मकर्मी रिन्तु थोमसले पनि मूल्यांकनमा सहयोग पुर्याउने छन्।
संसारभरका फरक कथालाई ठाँउ दिदैँ आएको यो महोत्सवले यसपालि पनि खण्डित आवाजलाई ध्यानमा राखेर महोत्सवको उद्देश्यलाई निरन्तरता दिनेछ।