२१ औं किम्फको दोस्रो दिन बिहीबार नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र 'म अलप हुन चाहन्छु' प्रदर्शन भएको छ।
सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र नीजि जीवनका विविध पाटा उजागर गरिएका छन्।
नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर बौद्धिक व्यक्तित्वमा गनिन्छन्। उनी मानवशास्त्री र साहित्यकारका रुपमा समेत चर्चित छन्।
प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्यमयी रूपमा बेपत्ता छन्।
जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु।’
निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो।
जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए। उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन्। यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौं सन्दर्भ आएका छन्।
फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरूलेले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र नीजि जीवनबारे प्रकाश पारेका छन्।
डोरबहादुर लिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन्।
यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरूमा समेत प्रदर्शन भई रूचाइएको 'म अलप हुन चाहन्छु' हेर्न राष्ट्रिय सभागृहमा उल्लेख्य संख्यामा फिल्मकर्मी तथा दर्शक उपस्थित थिए।