'हरर' फिल्म अर्थात् भूतप्रेतको कथा भएको डरलाग्दो फिल्म हेर्नु आफैमा एउटा अलग अनुभव हो। हरर फिल्महरू सस्पेन्स र डरले भरिएका हुन्छन्।
केही हरर फिल्म त यस्ता हुन्छन्, जसलाई एक्लै हेर्दा डरले पसिना छुट्छ। गल्तीले रातमा यस्तो फिल्म हेरियो भने एक्लै बाथरूम जानै मुस्किल पर्छ। डरले निद्रा नलाग्ने अवस्था पनि आउन सक्छ।
पछिल्लो समय हरर फिल्ममा कमेडी मसला थप्ने ट्रेन्ड बढेको छ। यस्ता फिल्म हेर्दा दर्शकको ध्यान डरलाग्दा दृश्यमा भन्दा कमेडीमा बढी जान्छ। तर पहिलेका हरर फिल्म भने विशुद्ध डरलाग्दा मात्र हुन्थे।
आज हामी तपाईंहरूलाई त्यस्तै एउटा हरर फिल्मबारे बताउँदैछौं, जसलाई कहिल्यै एक्लै नहेर्नू भनेर सुझाइएको छ।
आजभन्दा ५१ वर्षअघि रिलिज भएको यो फिल्मलाई आज पनि 'विश्वकै सबभन्दा डरलाग्दो फिल्म' भनिन्छ।
गुगलमा 'सबैभन्दा डरलाग्दो फिल्म' भनेर खोज्दा यही नाम आउँछ।
सन् १९७३ मा रिलिज भएको यो चर्चित फिल्मको नाम हो — द एक्सार्सिस्ट।
विलियम पिटरको उपन्यासमा आधारित यो फिल्म कतिसम्म भयानक छ भने, धेरै देशले यसको प्रदर्शनमा प्रतिबन्ध नै लगाएको छ।
भनिन्छ, यो फिल्म हेरेपछि धेरैलाई मानसिक आघात परेको थियो। त्यसैले आयरल्यान्ड, इंग्ल्यान्ड र स्कटल्यान्डमा यो फिल्म प्रतिबन्धित थियो। आइएमडिबीले यसलाई ८.२ रेटिङ दिएको छ।
यो फिल्ममा एक सानो नानीमाथि दुष्ट आत्माले कब्जा जमाउँछ। त्यो बालिकाकी आमा एक अभिनेत्री हुन्छिन्। छोरीको अचम्म व्यवहार देखेर उनी त्रसित हुन्छिन् र पादरीको सहयोगमा बालिकाबाट भूत हटाउने प्रयास गर्छिन्।
फिल्मका हरेक दृश्यले दर्शकको जीउमा काँडा उमारिदिन्छ।
यो फिल्मको सुटिङ बेला पनि अचम्मका घटना भएको चर्चा थियो। सुटिङ सेटमा आगलागी हुनुका साथै निर्माण टोलीका केही सदस्यको मृत्यु भएको थियो।
फिल्म थिएटरमा रिलिज हुँदा पनि केही दर्शकलाई हृदयाघात भएको केही सञ्चारमाध्यमले लेखेका छन्। कतिपय व्यक्ति त फिल्म हेरेपछि महिनौंसम्म राम्ररी निदाउन सकेका थिएनन्।
यो फिल्म अहिले प्राइम भिडिओमा उपलब्ध छ। डेढ अर्ब रूपैयाँमा बनेको यो फिल्मले ६२ अर्ब रूपैयाँभन्दा बढीको व्यापार गरेको थियो।