हालै सिनेमाघरमा धमाका मच्चाएको फिल्म 'सैयारा' की अभिनेत्री अनीत पड्डा अब फातिमा सना शेखसँग नयाँ फिल्ममा देखिन लागेकी छन्।
यो फिल्मको मुख्य भूमिकामा बेलायती ड्रामा सिरिज 'इन्डियन समर्स' का अभिनेता अर्जुन माथुर पनि छन्। यो 'कोर्ट रूम ड्रामा' हो जसको शीर्षक 'न्याय' राखिएको छ।
नित्या मेहराको निर्देशनमा बन्ने यस फिल्ममा अन्यायविरूद्ध लड्ने एक युवाको कथा प्रस्तुत गरिनेछ।
अहान पाण्डेसँगको रोमान्टिक ड्रामा 'सैयारा' बाट अनीत पड्डाले धेरै प्रशंसा कमाएकी छन्। अहिले यो फिल्म ओटिटी (नेटफ्लिक्स) मा रिलिज भइसकेको छ र दर्शकहरूले घरमै बसेर हेरिरहेका छन्।
ओटिटीमा राम्रो प्रदर्शन गरेपछि सैयाराकी अभिनेत्रीले नयाँ फिल्म 'न्याय' साइन गरेकी हुन्। 'बलिउड बबल' को रिपोर्टअनुसार अनीत यसमा आफूमाथि यौन दुर्व्यवहार गर्ने एक आध्यात्मिक गुरूविरूद्ध साहसका साथ उभिने पात्रका रूपमा देखिने छिन्।
यसका निर्देशक नित्या मेहराले 'बार–बार देखो' र 'मेड इन हेभन' जस्ता फिल्म तथा सिरिज बनाएका थिए।