मोहित सुरीको निर्देशनमा बनेको अहान पाण्डे र अनित पड्डा अभिनीत 'सैयारा' ले धेरै बक्सअफिस रेकर्डहरू तोडेको छ।
यसैबीच, यो फिल्म सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा सबभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले अन्तर्राष्ट्रिय बजारमा 'छावा', 'हाउसफुल ५' र 'सितारे जमीन पर' को कमाइलाई उछिनेको छ।
ट्रेड साइट स्याकनिल्कका अनुसार यो रोमान्टिक फिल्मले विक्की कौशल अभिनीत फिल्म 'छावा' को अन्तर्राष्ट्रिय कलेक्सनलाई १२ दिनमै उछिनेको हो।
विक्की, रश्मिका मन्दाना र अक्षय खन्ना अभिनीत 'छावा' को लाइफटाइल अन्तर्राष्ट्रिय कमाइ ९१ करोड भारू रहेको जनाइएको छ। 'सैयारा' ले अन्तर्राष्ट्रिय बजारमा १२ दिनमा ९४ करोड भारू कमाएर 'छावा' लाई पछि पारेको हो। योसँगै 'सैयारा' अन्तर्राष्ट्रिय बजारमा सन् २०२५ मा सबभन्दा धेरै कमाउने बलिउड फिल्मको रूपमा उभिएको छ।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार 'हाउसफुल ५' को अन्तर्राष्ट्रिय कलेक्सन ७० करोड २५ लाख भारू छ। त्यस्तै 'सितारे जमीन पर' ले अन्तर्राष्ट्रिय बजारमा ६६ करोड ७५ लाख भारू कमाएको छ।
यसैबीच 'छावा' २०२५ को विश्वव्यापी रूपमा सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यो फिल्मले विश्वव्यापी ८ सय ७ करोड ८८ लाख भारू कमाइ गरेको छ। भारतमा मात्रै फिल्मले ७ सय १६ करोड ८८ लाख भारू कमाएको छ।
त्यस्तै, 'सैयारा' को विश्वव्यापी कमाइ भने ४ सय १३ करोड भारू पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।