बलिउडको प्रतीक्षित एक्सन फिल्म 'वार २' को पहिलो गीत युट्युबमा सार्वजनिक भएको छ।
बिहीबार 'आवन जावन' शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो गीतमा फिल्मका मुख्य कलाकार ऋतिक रोशन र कियारा आडवाणीलाई रोमान्टिक अवतारमा देखाइएको छ। कियाराको जन्मदिनको अवसर पारेर निर्माण कम्पनी यशराज फिल्मस्ले यो रोमान्टिक गीत ल्याएको हो।
प्रीतमको संगीतमा रहेको यो गीतमा अरिजित सिंह र निकिता गान्धीले आवाज दिएका छन्। गीतका शब्दहरू अमिताभ भट्टाचार्यले लेखेका हुन्।
'वार २' को कुरा गर्दा यो स्पाइ युनिभर्स फिल्ममा ऋतिक र कियारासँगै जुनियर एनटीआर मुख्य भूमिकामा छन्। पर्दामा तेलुगु सुपरस्टार एनटीआर र ऋतिकको टकराब हेर्न पनि दर्शक प्रतीक्षित छन्। अयान मुखर्जी निर्देशित ‘वार २’ को निर्माता आदित्य चोपडा हुन्।
यो फिल्म अगस्ट १४ (साउन २९) देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ। हिन्दी, तेलुगु र तमिल भाषामा फिल्म रिलिज हुने तयारी छ।