भारतीय फिल्म 'सैयारा' ले विश्वभर आफ्नो अभूतपूर्व प्रदर्शनले धेरैलाई अचम्मित पारिरहेको छ।
अहान पाण्डे र अनित पड्डा अभिनीत यो फिल्मको विश्वव्यापी कमाइ चार सय करोड भारू नाघिसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।
मोहित सुरी निर्देशित यो म्युजिकल रोमान्टिक फिल्मले विभिन्न नयाँ-नयाँ रेकर्डहरू समेत बनाइरहेको छ।
यस्ता छन् सैयाराले बनाएका रेकर्डहरू:-
–यो नयाँ कलाकार अभिनीत फिल्मका लागि अहिलेसम्मको सबभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म बनेको छ। फिल्मले पहिलो दिन (जुलाइ १८) मा २१ करोड २५ लाख भारू नेट कमाइ गरेको थियो।
–फिल्मले ऐतिहासिक सप्तान्हको रेकर्ड बनायो। पहिलो तीन दिनमा फिल्मले भारतमा ८४ करोड ग्रस कमाइ गरेको थियो।
–'सैयारा' नव कलाकारहरू अभिनीत फिल्मका लागि पहिलो सोमबार सबभन्दा ठूलो कमाइ गर्ने फिल्म समेत बन्यो। फिल्मले अघिल्लो सोमबार २४ करोड २५ लाख ग्रस कमाइ गरेको थियो।
– नव कलाकारहरू अभिनीत फिल्मका लागि 'सैयारा' पहिलो साता सर्वाधिक कमाउने फिल्म समेत बन्न पुग्यो। फिल्मले पहिलो साता भारतमा एक सय ७५ करोड २५ लाख भारू नेट कमाइ गरेको थियो।
–यो फिल्मले पहिलोभन्दा दोस्रो शनिबार धेरै कमाइ गर्यो। पहिलो शनिबार फिल्मले २६ करोड २५ लाख भारू कमाएको थियो। दोस्रो शनिबार फिल्मले २७ करोड भारू कमायो।
–'सैयारा' नयाँ कलाकारहरू अभिनीत सबभन्दा छिटो दुई सय करोड भारू नेट कमाउने फिल्म समेत बन्यो। यसले नौं दिनमा दुई सय २० करोड ७५ लाख भारू कमाइ गर्यो।
फिल्मले सोमबारसम्म भारतमा दुई सय ६० करोड २५ लाख भारू नेट कमाइ गरेको छ। 'सैयारा' ले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।