यतिबेला म्युजिकल रोमान्टिक फिल्म 'सैयारा' ले चर्चा पाइरहेको छ। फिल्मले बक्स अफिसमा बलियो ओपनिङ मात्रै गरेको छैन्, दर्शकबाट प्रशंसा पनि पाइरहेको छ।
अहान पाण्डे र अनीत पड्डा अभिनीत यो फिल्मको क्रेजले अजय देवगनको फिल्म 'सन अफ सरदार २' को रिलिज एक साता पछि सारिएको छ। यसअघि जुलाई २५ मा रिलिज हुने भनिएको फिल्म अब अगस्ट १ (साउन १६) मा रिलिज हुने भएको हो।
'सैयारा' ले अप्रत्याशित रूपमा ठूलो ओपनिङ गरेको र आगामी दिनमा पनि फिल्मले राम्रो व्यापार गर्ने अनुमानका साथ 'सन अफ सरदार २' लाई पछि सारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सन २०१२ मा रिलिज भएको 'सन अफ सरदार' लाई दर्शकहरूले रूचाएका थिए। त्यसको १२ वर्षपछि 'सन अफ सरदार २' बनेको हो। यसलाई अजय देवगनको प्रतीक्षित फिल्म मानिएको छ।
अजयसहित मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रालगायत कलाकारहरू अभिनीत 'सन अफ सरदार २' लाई जय कुमार अरोराले निर्देशन गरेका हुन्।