आमिर खान अभिनीत बलिउड फिल्म 'सितारे जमीन पर' नेपालमा रिलिज हुने पक्का भएको छ।
भारतमा गत शुक्रबारदेखि प्रदर्शनमा आए पनि यो फिल्म नेपालमा रिलिज हुन सकेको थिएन।
आमिरको प्रतीक्षित मानिएको यो फिल्म नेपालमा प्रदर्शनमा नआउँदा दर्शकहरूले चासो र निराशा व्यक्त गरिरहेका थिए।
अब भने यो फिल्म छिट्टै नेपालमा प्रदर्शनमा आउने भएको छ। एप्पल इन्टरटेन्मेन्टले फिल्मलाई नेपाल ल्याउन लागेको हो।
'फिल्म नेपालमा आउने तय भयो। रिलिजका लागि प्रक्रियामा छौं। कहिलेदेखि रिलिज हुन्छ, बेलुकासम्म टुंगो लगाउँछौं,' एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले भनिन्।
उनका अनुसार शुक्रबारभन्दा अगाडि रिलिज गर्ने तयारी छ। यद्यपि, सेन्सर लगायतका प्रक्रिया बाँकी रहेकाले निश्चित भइसकेको छैन।
यसअघि यो फिल्मको राइटस् महंगो भनेको र त्यसमा कुरा नमिलेपछि नेपाली वितरक पछि हटेका थिए।
'सितारे जमीन पर' ले यतिबेला भारतमा उत्साहजनक कमाइ गरिरहेको छ।
प्रसन्न आरएस निर्देशित यो फिल्ममा आमिरका साथमा जेनेलिया देशमुख, आरूष दत्त, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा लगायतको अभिनय छ। फिल्मलाई आमिर खान र अर्पना पुरोहितले निर्माण गरेका हुन्।