बलिउड अभिनेता सैफ अली खानलाई भोपालस्थित १ खर्ब ५० अर्ब पैतृक सम्पत्तिलाई 'शत्रु सम्पत्ति' घोषित गर्ने केन्द्र सरकारको आदेशविरूद्ध पुनरावेदन प्राधिकरणमा सम्पर्क गर्न भनिएको छ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार यसमा फ्ल्याग स्टाफ हाउस, लक्जरी होटल नूर-अस-सबाह प्यालेस, दार-अस-सलाम, हबिबीको बंगला, अहमदाबाद प्यालेस र कोहेफिजाको सम्पत्ति समावेश छ। फ्ल्याग स्टाफ हाउसमा सैफले आफ्नो बाल्यकाल बिताएका थिए।
शत्रु सम्पत्ति ऐन, १९६८ का अनुसार भारत सरकारले १९४७ पछि पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न सक्छ। सैफको भोपालको सम्पत्ति यसै श्रेणीमा पर्दछ।
मध्य प्रदेश हाई कोर्टले सन् २०१५ मा यस मामिलामा सुनवाई गरेको थियो। त्यतिबेला भोपालको नवाबको जग्गालाई सरकारी सम्पत्ति घोषित गरिएको थियो। सरकारले सैफको परिवारलाई नोटिस पठाएको थियो। जबाफमा सैफले हाई कोर्टबाट सम्पत्तिको स्टे लिएका थिए।
गत १३ डिसेम्बरमा एमपी हाई कोर्टमा वकिल विकेक अग्रवालले सैफको याचिकालाई खारिज गर्न अपिल गरेका थिए। जसका लागि ३० दिन समय दिइएको थियो। तर सैफको परिवारबाट कुनै सदस्य केही कदम उठाएनन्। सैफको परिवारसँग हाई कोर्टमा डबल बेन्चको सामु अपिल दायर गर्ने विकल्प छ।
अभिनेता सैफ अली खान हालै अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई १५ जनवरीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो।