भारतीय अभिनेत्री रश्मिका मन्दना यतिबेला आराम गरिरहेकी छिन्। जिममा कसरत गर्दा खुट्टामा चोट लागेपछि उनका आगामी फिल्मको छायांकन प्रभावित बनेको छ।
सलमान खान र रश्मिकाको फिल्म 'सिकन्दर' को अन्तिम चरणको छायांकन जनवरी १० मा सुरु गर्ने तयारी थियो। रश्मिका फिल्म 'थामा' र 'कुबेर' मा समेत देखिँदैछिन्।
यसैबीच, रश्मिकाले आफ्नो स्वास्थ्यको अपडेट दिँदै छिट्टै सेटमा फर्किने बताएकी छिन्।
उनले इन्स्टाग्राममा आफ्ना केही तस्बिरहरू समेत राख्दै आफू छिट्टै थामा, सिकन्दर र कुबेरको सेटमा फर्किने बताएकी छिन्।
ढिलाइका लागि रश्मिकाले निर्देशकहरूसँग माफी समेत मागेकी छिन्।
रश्मिका अभिनीत पछिल्लो फिल्म 'पुष्पा २' ले नेपालमा समेत आक्रामक व्यापार गरेको थियो। यो फिल्म अझै पनि प्रदर्शन भइरहेको छ।