बलिउड अभिनेता विक्रान्त मासेले अभिनयबाट संन्यास लिने निर्णय गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत अभिनयबाट संन्यास लिने निर्णय गरेको जानकारी दिएका हुन्।
'हेलो पछिल्लो केही वर्ष शानदार रह्यो। तपाईहरूको लगातार समर्थनको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। तर म अगाडि बढ्दै गर्दा आफूलाई फेरि सन्तुलित गर्न र घर फर्किने समय आएको महसुस हुन्छ। एक श्रीमान, बुवा, छोरा र अभिनेताका रूपमा पनि। २०२५ मा हामी अन्तिम पटक एकअर्कासँग भेट्छौं,' उनले लेखेका छन्।
अभिनेता विक्रान्तले अभिनयबाट संन्यास लिने कारण खुलाएका छैनन्।
उनले सानो पर्दाबाट अभिनयमा डेब्यू गरेका थिए। उनले 'धरम वीर, बालिका वधू, कुबूल है' जस्ता टिभि शोमा काम गरेका छन्।
उनले सन् २०१३ मा फिल्म 'लुटेरा' बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले 'दिल धड्कने दो, छपाक, १२ वीं फेल' जस्ता फिल्ममा अभिनय गरेका छन्। '१२ वीं फेल' बाट उनले निकै तारिफ बटुलेका थिए।
उनी पछिल्लो समय 'द साबरमती रिपोर्ट' मा देखिएका थिए। अब उनी 'यार जिगरी' र 'आँखोंकी गस्ताखियां' मा देखिनेछन् । यी दुवै फिल्म २०२५ मा रिलिज हुनेछ।