हास्य कलाकार शिव शंकर रिजाल 'जोगिन्दर' ले आगामी गाइजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी 'ठग-ठाग कम्पनी' ल्याएका छन्।
दर्शक तथा स्रोतालाई हास्यव्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र विकृति विसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले उनले 'ठग-ठाग कम्पनी' ल्याएका हुन्।
विगत २२ वर्षदेखि नियमित व्यंग्यका कोसेली दिर्दै आएका जोगिन्दरको 'ठग-ठाग कम्पनी' ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसंगतिदेखि फेसन र ग्ल्यामरसम्मलाई उनले 'ठग-ठाग कम्पनी' मा व्यंग्यको मसला बनाएका छन्।
लेखन, निर्देशन, प्रस्तुति समेत 'जोगिन्दर' कै रहेको 'ठग-ठाग कम्पनी' मा प्यारोडी पनि छ। यसपटक उनले 'काले केटाले' भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन्। गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन्। रिजालको 'ठग-ठाग कम्पनी' २२ औं कोसेली हो। गतवर्ष उनले 'लुछाचुँडी' ल्याएका थिए।
जोगिन्दरको 'ठग-ठाग कम्पनी' मा राधिका हमाल, गोपाल ढकाल 'छन्दे', दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, विजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन्। 'ठग-ठाग कम्पनी' को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्।