तेलुगु फिल्मका कमेडियन कलाकार ब्रह्मानन्दमले एक हजारभन्दा बढी फिल्म खेलेर गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन्। सन् २००९ मा उनलाई भारत सरकारले पद्म श्री पदकबाट सम्मान पनि गरिसकेको छ। उनको पूरा नाम ब्रह्मानन्दम कन्नेगान्टी हो। उनी सन् १९५६ फेब्रूअरी १ मा जन्मिएका हुन्।
उनले 'मोद्दाबाइ' नामको नाटकमा अभिनय गरिरहेको बेला तेलुगु निर्देशक जन्धयालाले पहिलोपटक देखेका थिए। उनको अभिनयबाट प्रभावित भएर जन्धयालाले ब्रह्मानन्दमलाई 'चन्ताबाबाइ' मा एक सानो भूमिका दिएका थिए। यसपछि ब्रह्मानन्दमले कहिले पछाडि फर्केर हेर्नुपरेन।
उनी धेरै फिल्ममा अभिनय गरे र सम्पत्ति पनि कमाए। भारतीय समाचारमाध्यम नवभारत टाइम्सका अनुसार आज उनी ५५० करोड भारूका मालिक हुन्।
उनीसँग करोडौंको जग्गा र हैदराबाद नजिकै जुब्ली हिलसमा एक भव्य बंगला पनि छ। साथै उनीसँग महँगा कारको कलेक्सन पनि छ। उनले एक फिल्ममा काम गरेवापत १ देखि २ करोड भारू लिन्छन्।
१,१०० वटा फिल्ममा काम गरिसकेका उनले नेपाली फिल्म 'ह्रस्व दीर्घ' मा पनि अभिनय गरेका छन्।