दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म 'कल्की २८९८ एडी' हजार करोड क्लबमा सामेल भएको छ।
६०० करोड लगानीमा बनेको यो फिल्मले रिलिज अगावै कमाइको कीर्तिमान राख्ने अपेक्षा गरिएको थियो। फिल्मले आफ्नो रिलिजको १८ औं दिनमा हजार करोड भारूको आँकडा पार गरेको हो।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मले अहिलेसम्म १०५४ करोड भारू कमाएको छ।
हजार करोड भारू कमाउने यो सातौं फिल्म हो। यसअघि आमिर खानको फिल्म 'दंगल', प्रभासको फिल्म 'बाहुबली २', जुनियर एनटिआर र रामचरणको फिल्म 'आरआरआर', यशको फिल्म 'केजिएफ २', शाहरूख खानको फिल्म 'जवान', शाहरूख खानको फिल्म 'पठान' ले विश्वव्यापी हजार करोड कमाएका थिए।
नाग अश्विनले निर्देशन गरेको फिल्म 'कल्की' मा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।