भारतीय निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज 'हीरामन्डीः द डायमण्ड बजार' लाई दर्शकले रूचाइरहेका छन्।
यस सिरिजले भारतसँगै अन्य देशमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। यसले पाकिस्तानमा नयाँ रेकर्ड राखेको छ।
यो सिरिज पाकिस्तानमा पाँच हप्तादेखि पहिलो नम्बरमा छ। त्यस्तै बंगलादेशमा पनि पहिलो नम्बरमै छ। यो सिरिज १९० देशमा स्ट्रिम भइरहेको छ।
'हीरामन्डी' १ मेमा रिलिज भएको थियो। यो सिरिज रिलिज भएको एक हप्तामा ४३ देशको नेटफ्लिक्समा टप १० मा परेको थियो। यो विश्वभर सबैभन्दा धेरै हेरिने भारतीय वेब सिरिज समेत हो।
'हीरामन्डी' मा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।
यो वेब सिरिज 'वेश्यालय' चलाउने रानीहरूको कथामा आधारित छ। 'हीरामन्डी' चर्चा पाएसँगै दोस्रो भागको निर्माण घोषणा गरिएको छ।