बलिउड अभिनेता कार्तिक आर्यन आगामी फिल्म 'चन्दु च्याम्पियन' को प्रचार प्रसारमा व्यस्त छन्।
यसैबीच उनले ब्रान्डको विज्ञापनबारे पनि कुराकानी गरेका छन्। उनले केही वर्षअघि फेयरनेस क्रिमको विज्ञापनमा काम गरेका थिए। तर उनले यस विज्ञापनको सम्झौता अगाडि बढाएनन्।
उनले फेयर क्रिमको विज्ञापन मात्र नभई पान मसालाको विज्ञापन गर्न समेत अस्वीकार गरेका थिए। उनले हालै लल्लनटपलाई दिएको अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेका हुन्।
'मैले केही वर्षअघि फेस क्रिमको विज्ञापनमा काम गरेको थिएँ। तर पछि मैले यस विज्ञापन गर्न अस्वीकार गरेँ। किनकी कुनै क्रिमले गोरो हुन्छ भनेर आफै स्वीकार गर्न सकिरहेको थिइनँ। दर्शकलाई के भनूँ,' उनले भने।
उनले सन् २०१८ मा आएको फिल्म 'सोनू के टिटूकी स्विटी' पछि यस विज्ञापन खेलेका थिए।
यस अन्तर्वातामा उनले आफूलाई धेरै पटक पान मसालाको विज्ञापनको पनि प्रस्ताव आएको बताए। 'यस्तो खाल्को विज्ञापनबाट बच्न चाहन्छु,' उनले भने।
अजय देवगन, अक्षय कुमार, शाहरूख खान, सैफ अली खान, महेश बाबूलगायत अभिनेता पान मसालाको विज्ञापनमा देखिँदै आएका छन्। केही समयअघि ट्रोल भएपछि अभिनेता अक्षय कुमारले पान मसालाको विज्ञापन खेल्न छाडेका छन्।