सञ्जय लीला भन्सालीको वेब सिरिज 'हीरामन्डी: द डायमन्ड बजार' रिलिज भएको एक महिना भइसक्यो। यसको चर्चा अझै भइरहेको छ।
सिरिजकी अभिनेत्री शर्मिन सहगल मेहता ट्रोलको शिकार समेत भइरहेकी छन्। उनलाई दर्शकले 'एक्सप्रेशनलेस' को ट्याग समेत दिएका छन्। लगातार ट्रोलको शिकार भएपछि उनले इन्स्टाग्राममार्फत जबाफ दिएकी छन्।
'दर्शक नै राजा हुन्। एक क्रिएटिभ व्यक्तिको हिसाबले यो स्वीकार गर्न आवश्यक छ। उनीहरूले आफ्नो विचार राख्न पाउँछन् चाहे त्यो सकारात्मक होस् या नकारात्मक होस्। मैले आलमजेबको भूमिकाको लागि सक्दो प्रयास गरेकी हुँ। तर हामी सकारात्मकभन्दा नकारात्मक कुरालाई बढी ध्यान दिन्छौं,' उनले भनिन्।
उनले हीरामन्डी रिलिज भएपछि आलमजेबसँग जोडिएको हरेक कुराबाट टाढिएको बताउँदै भनिन्, 'एक समय यस्तो आएको थियो जब मैले कुनै कुरामा ध्यान दिन छाडेको थिएँ। केही हप्ताअघि मैले सबै कुरा पढ्ने निर्णय गरेकी हुँ। बिस्तारै मलाई महसुस भयो कि मैले निकै माया पनि पाइरहेकी छु। मैले अब सकारात्मक चिजमा ध्यान दिने सोचेको छु।'