भारतीय फिल्म निर्माता तथा निर्देशक पायल कपाडियाले कान फिल्म फेस्टिभलमा इतिहास रचेकी छन्।
उनले फिल्म 'अल वी इमेजिन एज लाइट' बाट ग्राण्ड प्रिक्स अवार्ड जितेकी हुन्। उनले उक्त अवार्ड पाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
'पायल कपाडियाको ७७ औं कान फिल्म फेस्टिभलमा अल वि इमेजिन एज लाइट अवार्ड जितको ऐतिहासिक उपलब्धिमा भारत गर्व गरिरहेको छ। उनी एफटिआईआईको पूर्व छात्रा हुन्। यो प्रतिष्ठित सम्मानले उनको असाधारण प्रतिभालाई उजागर गरेको छ। यसले भारतीय फिल्म निर्माताका नयाँ पिढीलाई प्रेरित गरेको छ,' उनले लेखेका छन्।
कान फिल्म फेस्टिभलमा पछिल्लो ३० वर्षदेखि कुनै पनि हिन्दी फिल्म मनोनित भएको थिएन। यो अवसर भारतीय महिला निर्देशक पायल कपाडियाले पाएकी छन्।
फिल्म 'अल वि इमेजिन एज लाइट' को कथा पनि पायल कपाडियाले नै लेखेकी हुन्। फिल्ममा कनी कुश्रुति, दिव्या प्रभा र छाया कदमको अभिनय छ।