बलिउड अभिनेता रणवीर कपूरको फिल्म 'रामायण' विवादमा फसेको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार यस फिल्मको प्रतिलिपि अधिकारको विवादमा फसेको हो। यस फिल्मको प्रतिलिपि अधिकार अल्लु मन्टेना मिडिया भेन्चर्ससँग भएको बताइएको छ।
सन् २०२४ को अप्रिलमा फिल्मको प्रतिलिपि अधिकारको लागि कुराकानी भएको थियो। तर सम्झौता अनुसार पैसा भुक्तानी नभएको कारण असफल भएको थियो। हाल उक्त कम्पनीले आफ्नो अधिकारको लागि कानुनी कारबाहीको माग गरेको छ।
यस्तो कानुनी लडाईबीच फिल्म निर्माणमा ढिलाइ हुने हो कि होइन भनेर स्पष्ट छैन। हाल फिल्मको छायांकन भइरहेको छ। केही दिनअघि रणवीर र साई पल्लवीको निर्माण सेटबाट तस्बिर लिक भएको थियो।
नितेश तिवारीले निर्देशन गर्न लागेको फिल्ममा रणवीर र साई पल्लवीसँगै विजय सेतुपति, सनी देओल, बबी देओल, लारा दत्तालगायत कलाकारको अभिनय रहनेछ।