बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आरोपीको नाम अनुज थापन हो। उनलाई केही दिनअघि पुलिसले पञ्जाबबाट पक्राउ गरेको थियो। अनुज क्राइम ब्रान्चको कारागारमा तन्नाको फाँसी बनाएर बाथरूममा झन्डिएका हुन्। यो घटना ११ देखि १२ बजेको बीचमा भएको बताइएको छ।
झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा पुगेपछि उनलाई डाक्टरले मृत घोषित गरेका हुन्।
१४ अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो। दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए।
त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए। सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ।