बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' को सफलतापछि निर्देशक एटलीले पारिश्रमिक बढाएका छन्। उनले नयाँ फिल्मको लागि आफ्नो पारिश्रमिक बढाएका हुन्।
'जवान' ले १०५० करोड भारू कमाएको थियो। यस फिल्मबाट एटलीले तारिफ बटुलेका थिए।
एटली यतिबेला नयाँ फिल्मको तयारीमा छन्। फिल्ममा अभिनेता अल्लू अर्जुनको मुख्य भूमिका रहने बताइएको छ। एटलीले यस फिल्मको लागि पारिश्रमिकसँगै कमाइको सेयर पनि मागेका छन्।
एटलीले 'जवान' को लागि ३० करोड भारू पारिश्रमिक लिएका थिए। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार नयाँ फिल्मको लागि कति माग गरेको भनेर खुलाइएको छैन।
यतिबेला अल्लू अर्जुन फिल्म 'पुष्पा २' मा व्यस्त छन्। यो फिल्म सन् २०२१ मा आएको 'पुष्पा' को दोस्रो भाग हो।