अभिनेता तथा गायक दिलजीत दोसाँझ भारतमा मात्र नभई विश्वभर चर्चित छन्।
उनले सांगीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले पञ्जाबी गीतसंगीतलाई अघि बढाउन निकै मिहेनत गरेका छन्। लगातार चर्चामा रहेका गायकले हालै नयाँ इतिहास रचेका छन्।
उनले क्यानडाको वैंकुवरको बिसी प्लेस स्टेडियममा सांगीतिक प्रस्तुति दिएका थिए। शोमा उनको सबै टिकट बिक्री भएर नयाँ इतिहास बनेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार शोको ५० हजार टिकट बिक्री भएको थियो।
हाल दिलजीत दिल-लुमिनाती यात्रामा छन्। उनले उत्तरी अमेरिकामा पनि प्रस्तुति दिएका थिए। उनले आफ्नो चर्चित गीत गाएका थिए।
नयाँ इतिहास रचेपछि गायक दिलजीतले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। 'इतिहास रचिएको छ। बिसी प्लेस स्टेडियम एकदम खचाखच छ। सबै टिकट बिक्री भइसकेको छ,' उनले लेखेका छन्।
हालै दिलजीतको पञ्जाबी फिल्म 'अमर सिंह चमकिला' प्रदर्शन भएको छ। नेटफ्लिक्समा प्रदर्शन भएको फिल्मले चर्चा बटुलिरहेको छ। यो फिल्म पञ्जाबी गायक अमर सिंह चमकीलाको जीवनमा आधारित छ। फिल्ममा दिलजीतसँगै परिणीति चोपडाको पनि मुख्य भूमिका रहेको छ।