बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म 'डंकी' ले भारतीय बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।
शाहरूखको 'जवान' र 'पठान' प्रदर्शन भएसँगै यो फिल्मप्रति पनि दर्शकको आशा थियो। तर 'डंकी' ले यी दुई फिल्मको जस्तो कमाइ गर्न सकेन।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले तीन दिनमा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।
२९ करोड २ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २० करोड १२ लाख र तेस्रो दिन २६ करोड ५० लाख भारू कमाइ गरेको हो।
यस फिल्मको कमाइमा दक्षिण भारतीय फिल्म 'सलार' को असर परेको छ। 'सलार' ले शाहरूख खानको 'जवान' को समेत रेकर्ड तोडेको छ। प्रशान्त नीलले निर्देशन गरेको फिल्म 'सलार' ले भारतमा ९० करोडमा ओपनिङ गरेको छ। 'जवान' ले पहिलो दिन ७५ करोड कमाएको थियो।
उच्च शो पाउँदा पनि 'डंकी' कमाइको मामिलामा 'सलार' भन्दा पछि परेको हो। भारतमा पहिलो दिन 'डंकी' ले १२६०८ शोज पाएको थियो भने 'सलार' ले ६४३९ शोज पाएको थियो।
राजकुमार हिरानीले निर्देशन गरेको फिल्म 'डंकी' मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।
इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।