राजकुमार हिरानी निर्देशित फिल्म 'डंकी' बिहीबारदेखि प्रदर्शन हुँदैछ।
यस फिल्मका लागि दर्शक निकै उत्साहित देखिएका छन्। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्मको नाम 'डंकी' राख्नुको कारण खुलाएका छन्।
रेड चिल्लीज इन्टरटेनमेन्ट युट्युब च्यानलमा एक भिडिओ सार्वजनिक गर्दै फिल्मको नामबारे खुलासा गरिएको हो। जसमा अभिनेता शाहरूख खान, अभिनेत्री तापसी पन्नू र निर्देशक राजकुमार हिरानीलाई देख्न सकिन्छ।
'म एकपटक पञ्जाबको जालन्धरमा गएको थिएँ। त्यहाँ घरको छतमा ठूला-ठूला प्लेन र विदेशी विरासतका सालिक देखेँ। किन यस्तो गरिएको रहेछ भनेर बुझ्दै जाँदा घरबाट कोही विदेश गएका छन् भने सानले त्यस्तो चिज राख्ने रहेछन्' भिडिओमा हिरानीले भनेका छन्, 'दोस्रो विश्व युद्धपछि विभिन्न देशमा जनसंख्याको कमी भयो। त्यसपछि पञ्जाबबाट धेरै मान्छे विदेश गए। केही समयपछि भिसा दिन बन्द गरेपछि गैरकानुनी तरिकाले जान सुरू गरे। जसलाई डंकी रूट भनिन्छ। त्यसैले फिल्मको नाम डंकी राखिएको हो।'
फिल्ममा शाहरूख र तापसीसँगै विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।
इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ।