बलिउड अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी कपूरले बलिउडमा डेब्यू गरिसकेकी छन्।
उनले जोया अख्तरको फिल्म 'द आर्चिज' बाट डेब्यू गरेकी हुन्। यो फिल्म ७ डिसेम्बरदेखि ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ।
यो फिल्म रिलिज भएपछि अभिनेत्री खुशी कपूरले दोस्रो फिल्म पाएकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी करण जोहरको फिल्ममा देखिन लागेकी हुन्।
फिल्ममा खुशीसँगै अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानको मुख्य भूमिका छ। यो फिल्म रोमान्टिक कमेडी जनरामा बन्ने बताइएको छ।
यो फिल्म पनि ओटिटी प्लेटफर्ममा प्रदर्शन हुनेछ। फिल्मलाई शौना गौतमले निर्देशन गर्नेछिन्।
फिल्मको छायांकन अर्काे वर्षदेखि सुरू हुने बताइएको छ। तर निर्माण टिमले औपचारिक रूपमा फिल्म निर्माण घोषणा गरेका छैनन्।
इब्राहिम अली खान करण जोहरको धर्मा प्रोडक्सनबाट बन्न लागेको फिल्म 'सरजमीं' बाट बलिउडमा डेब्यु गर्दैछन्। यो खुशी र इब्राहिमको दोस्रो फिल्म हुनेछ।