बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले आफूमाथि लागेको आरोपमा सफाइ पाउने देखिएको छ।
व्यापारीसमेत रहेका कुन्द्रामाथि अश्लील फिल्म बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोप थियो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार इनफोर्समेन्ट डाइरेक्टरेटले यो घटनामा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानले यो मामिलामा उनको कुनै प्रत्यक्ष संलग्नता नदेखिएको र उनीविरूद्ध कुनै प्रमाण फेला नपरेको देखाएको टाइम्स नाउ न्युजले जनाएको छ।
सन् २०२१ मा राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। झन्डै दुई महिना जेल बसेर उनी जमानतमा रिहा भएका थिए।
मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा आएको एउटा उजुरीको अनुसन्धानका क्रममा राज कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको थियो।
राजले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए।
जेलबाट छुटेपछि उनी लामो समय आफ्नो अनुहारमा मास्क लगाएर हिँडे। सञ्चारमाध्यम र पत्रकारहरूको क्यामरामा उनले अनुहार सार्वजनिक गरेनन्। यसले पनि उनलाई निकै चर्चा दिलाएको थियो।
केही समयअघि मात्र एक स्ट्यान्डअप कमेडीमार्फत् उनले आफ्नो मास्क उतारेका थिए। त्यसयता भने उनी मास्क नलगाई हिँड्न थालेका हुन्।
राज कुन्द्राले आफ्नो जेल बसाइको अनुभवलाई फिल्मका रूपमा उतार्ने समेत बताएका छन्।
सन् १९७५ मा बेलायतमा जन्मेका राज कुन्द्रा सफल ब्रिटिस-एसियन व्यवसायी हुन्। उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। उनका बुबा बालकृष्ण कुन्द्रा लुधियानाका हुन्। कामको सिलसिलामा बालकृष्ण बेलायत पुगे। बस कन्डक्टरको कामसमेत गरेका उनले पछि आफ्नै व्यवसाय सुरू गरे।
पढाइभन्दा व्यवसायमा रूचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए।
राज कुन्द्रा कलेज ड्रप आउट हुन्। बिबिसी हिन्दीका अनुसार व्यवसायमा राज कुन्द्राको भाग्य नेपाली पस्मिनाको व्यापारबाट चम्किएको हो। बेलायत र भारतका सेलिब्रेटीसँग राम्रो सम्बन्ध भएका राज कुन्द्राले त्यहाँका फेसन उद्योग र सिनेमा क्षेत्रमा पस्मिनाको व्यापार फैलाए। यस क्षेत्रमा बलियो पकड बनाएपछि उनको उनको व्यवसायले छोटो समयमै लामो छलाङ मारेको हो। केही वर्षमै बेलायत र भारत हुँदै उनको व्यवसाय संसारका थुप्रै देशमा फैलियो।
हाल राज कुन्द्रा बिजनेस स्टील प्लान्ट, फेसन उद्योग, रियल इस्टेट, कन्स्ट्रक्सन, फोरेक्स इन्भेस्टमेन्ट र खेलकुद क्षेत्रमा लगानी गरेका छन्। उनी हीरा व्यापारी पनि हुन्। उनको व्यवसाय रूस, युक्रेन, संयुक्त अरबलगायत क्षेत्रमा फैलिएको बताइन्छ।