पछिल्लो समय चर्चामा रहेको बलिउड फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पाँच दिनमा २८४ करोड ५ लाख भारू कमाएको छ। हिन्दी संस्करणतर्फ २५० करोड ६६ लाख भारू कमाएको छ।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले एकदमै राम्रो फिल्म बनेको बताएका छन् भने कतिपयले हिंसात्मक फिल्म भन्दै आलोचना गरिरहेका छन्।
फिल्मका कलाकार आफ्नो अभिनयका कारण दर्शकको मन जित्न सफल भएका छन्। कलाकारले चर्चा पाइरहँदा यस फिल्मबाट कति पारिश्रमिक लिए भन्ने खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अभिनेता रणवीर कपूरले 'एनिमल' का लागि ३० देखि ४० करोड भारू पारिश्रमिक लिएका छन्।
'एनिमल' मा खलनायकको भूमिकामा देखिएका बबी देओलले ४ देखि ५ करोड भारू लिएका छन्। अभिनेत्री रश्मिका मन्दनाले ४ करोड र अनिल कपूरले २ करोड पारिश्रमिक लिएका छन्।