बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले भारतीय बक्स अफिसमा २४० करोड ८५ लाख भारू कमाएको छ। यो एक्सन फिल्म हो।
फिल्ममा रणवीरले ५०० किलोको मेसिनगन चलाएका छन्। कतिपयले उक्त मेसिनगन विदेशमा बनेको अनुमान लगाएका थिए। तर फिल्मको एक प्रमोसन कार्यक्रममा निर्माण टिमले भारतमै बनेको बताएका छन्।
यो मेसिनगन प्रोडक्सन डिजाइनर सुरेश सेल्वराजनले बनाएका हुन्। उनले चार महिना लगाएर वास्तविक स्टिलबाट बनाएको बताएका छन्।
'अहिलेसम्म बनेका भारतीय फिल्ममा यस्तो बन्दुक प्रयोग भएको छैन। हामीले यसलाई बनायौं। तर नाम के राख्ने भन्ने भयो। हाल हामीले यसको नाम 'वार मेसिनगन' राखेका छौं। हामीले सुरूमा पेन्सिलले स्केच गरेर कन्सेप्ट डिजाइन गरेका थियौं। यो बनाउन कन्सेप्ट डिजाइनर, इन्जिनियर, कारपेन्टर, इलेक्ट्रिसियन सहभागी थिए। यसको तौल ५०० किलो छ,' सुरेशले भने, 'यो मेसिनगन सार्न पनि निकै सकस हुन्थ्यो।'
यो ठूलो मेसिनगन १८ मिनेट लामो एक्सन सिनमा देखाइएको छ। यो १ करोड भारूमा बनेको हो।
अभिनेता रणवीरले उक्त मेसिनगन देखेपछि आफ्नो अनुभव सेयर गरेका छन्। 'हामी सेटमा वास्तविक हतियार प्रयोग गर्दैनौं। जब हामी लामो समयसम्म सुटिङ गर्छौं, तब हामीले आफ्नो शरीर र कानमा यति ठूलो मसिन चलाउँदा कस्तो असर गर्छ भनेर सोच्नुपर्छ। मैले त्यो सिनको कल्पना गर्नुपर्यो। गोलीहरू वास्तविक थिएन, नक्कली थिए। यो सिने दुनियाँको जादू हो,' उनले भने।