बलिउड अभिनेता रणवीर कपूरको फिल्म 'एनिमल' ले 'पठान' को रेकर्ड तोडेको छ।
'एनिमल' ले पहिलो सप्तान्हमा सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ। हिन्दी संस्करणतर्फ १७६ करोड ५८ लाख भारू कमाएको छ।
शाहरूख खानको फिल्म 'जवान' पहिलो सप्तान्हमा १८० करोड ४५ लाख भारू कमाउँदै पहिलो स्थानमा छ भने 'पठान' ले १६१ करोड भारू कमाएको थियो।
६३ करोड ८० लाखमा ओपनिङ गरेको फिल्म 'एनिमल' ले दोस्रो दिन ६७ करोड २७ लाख र तेस्रो दिन ७० करोड ६९ लाख भारू कमाएको हो।
'एनिमल' लाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।
फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्।