कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच ६ वर्षअघि झगडा भएपछि उनीहरूको जोडी छुट्टिएको थियो।
'कपिल शर्मा शो' मा डाक्टर मसहुर गुलाटीको भूमिकामा हँसाइरहेका सुनीललाई कपिलले जहाजमा दुर्व्यवहार गरे। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडेका थिए।
अब उनीहरू नेटफ्लिक्सको नयाँ शोमा एकसाथ देखिने भएका छन्। नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमा एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो। भिडिओमा अस्ट्रेलियाको जहाजमा भएको झगडाबारे पनि घुमौरो तरिकामा उनीहरूले कुराकानी गरेका छन्।
'१९० देशमा हामी दुई जना एकसाथ आउँदैछौं,' कपिलले भने।
'अस्ट्रेलिया नजाऊ,' सुनीलले भने।
'उनीहरू हामीलाई पर्खिरहेका छन्,' कपिलले भने।
'त्यसो भए हामी जहाजमा होइन, रोडबाट जाऊ,' सुनीलले भने। उनको प्रस्तावमा कपिलले सहमति जनाएका छन्।
नेटफ्लिक्सको नयाँ शोमा कपिल र सुनीलसँगै अर्चना पुरन सिंह, कृष्णा अभिषेक, किकु शारदा, राजीव ठाकुरलगायत देखिँदैछन्।
यो 'कपिल शर्मा शो' भन्दा फरक हुने बताइएको छ। तर हालसम्म शोको नामबारे खुलासा गरिएको छैन।