बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले नयाँ रेकर्ड राखेको छ।
'जवान' ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५२५ करोड ५० लाख भारू कमाएको छ। योसँगै 'जवान' ले सनी देआलको फिल्म 'गदर २' को रेकर्ड तोडेको छ।
हालसम्म सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड 'गदर' को नाममा थियो। बिहीबार ५ करोड ८१ लाख भारू कमाउँदै 'जवान' ले 'गदर २' को रेकर्ड तोडेको हो। 'गदर २' ले ५२४ करोड ७५ लाख भारू कमाएको छ।
यस्तै तेस्रो नम्बरमा शाहरूख खानकै फिल्म 'पठान' रहेको छ। 'पठान' ले ५२४ करोड ५३ लाख भारू कमाएको थियो।
'जवान' ले तमिल र तेलुगू संस्करणमा ५८ करोड ८२ लाख भारू कमाएको छ भने विश्वभरबाट १०३६ करोड कमाएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।