बलिउड अभिनेत्री स्वरा भास्कर आमा बनेकी छन्। सेप्टेम्बर २३ मा उनले छोरीलाई जन्म दिएकी हुन्।
आफ्नो सामाजिक सञ्जालमा तस्बिर राख्दै स्वाराले आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले आफ्ना श्रीमान र भर्खर जन्मेकी छोरीको केही तस्बिरहरू सामाजिक सञ्जालमा राखेकी छन्।
उनले आफ्नी छोरीको नाम राबिया राखेको पनि जानकारी दिएकी छन्।
स्वराले यही वर्ष जनवरी २३ मा समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी थिइन्।
स्वरा नरेन्द्र मोदी सरकारविरूद्ध खरो रूपमा आवाज उठाउने अभिनेत्रीका रूपमा पनि चिनिन्छिन्।
स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले 'माधोलाल कीप वकिङ' बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन।
त्यसपछि उनले सञ्जय लीला भन्सालीको फिल्म 'गुजारिश' मा ऋतिक रोशन र ऐश्वर्य रायका साथमा सहायक भूमिका निर्वाह गरेकी थिइन्।
उनले फिल्ममा पहिलो सफलता भने 'रांझना' बाट पाएकी हुन्। सोनम कपुर र धनुषको मुख्य भूमिका रहेको यो फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यही फिल्मबाट उनले फिल्मफेयरको उत्कृष्ट सहायक अभिनेत्री अवार्ड पनि पाएकी थिइन्।
यसपछि उनले आर माधवन र कंगना रनावतको मुख्य भूमिका रहेको 'तनु वेड्स मनु' र सलमान खान र सोनम कपूरको 'प्रेम रतन धन पायो' मा सहायक भूमिकामै काम गरिन्। दुवै फिल्म सफल भए।
पछिल्लो समय उनी करिना कपुर खान र सोनम कपुरसँगै 'वीरे दी वेडिङ' मा देखिएकी थिइन्। विशेषगरी सहायक भूमिकामा जमेकी उनी राम्रो अभिनय गर्ने अभिनेत्री मानिन्छिन्।