भारतीय अभिनेता शाहरूख खानको फिल्म 'जवान' ओटिटीमा रिलिज हुने भएको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलासँगको कुराकानीमा निर्देशक एटली कुमारले यो फिल्म नेटफ्लिक्समा रिलिज गर्ने बताएका हुन्।
यो फिल्म सिनेमा हलमा लागेको ११ दिन मात्र भएको छ। त्यसैले नेटफ्लिक्समा फिल्म कहिले आउँछ भन्नेबारे भने उनले कुनै जानकारी दिएका छैनन्।
तर नेटफ्लिक्समा हेर्ने दर्शकहरूका लागि विशेष 'सर्प्राइज' दिन सक्ने निर्देशक एटली कुमारले बताएका छन्। अहिले हलमा लागिरहेको फिल्म नभएका केही दृश्यहरू नेटफ्लिक्स रिलिजमा राखिन सक्ने उनले बताएका हुन्।
उनका अनुसार 'जवान' को ओटिटी संस्करण तीन घन्टाभन्दा लामो हुन सक्नेछ। जबकि हलमा यो दुई घन्टा ४५ मिनेटको छ।
नेटफ्लिक्स रिलिजमा जवानका 'अनकट' (नकाटिएका) दृश्यहरू समावेश हुनेछन्। यी दृश्य हलमा रिलिज हुनुअघि सेन्सर बोर्डले र केही निर्माण टिमले नै काटेको थियो। अब तिनै दृश्यहरूसहित नेटफ्लिक्समा जवान रिलिज गर्ने तयारी भएको निर्देशक एटली कुमारले बताएका हुन्।
एटली कुमारले भनेका छन्, 'मलाई लाग्छ कि हामीले सिनेमा हलको सही समय सीमाको हिसाब गरेर केही दृश्य काटेका छौं। तर अब ओटिटीका लागि हामीले अलग लय सोचिरहेका छौं। त्यसैले हामी केही कुराहरूमा काम गरिरहेका छौं। यसकै लागि म छुट्टी पनि बसेको छुइनँ। हेरौं, के हुन्छ। म तपाईंहरूलाई सर्प्राइज दिन्छु कि दिन्नँ।'
एटली कुमारको यो अभिव्यक्तिसँगै अब जवानको 'अनकट' संस्करण ओटिटीमा आउने सम्भावना बढेको हो।
शाहरूख खानसँगै विजय सेतुपति, दिपीका पादुकोण, नैनतारा लगायत कलाकारको भूमिका रहेको जवानले रिलिज भएयता संसारभरबाट आठ सय करोड भारू कमाइसकेको छ। भारतमा मात्र यसले ५ सय करोड भारू भन्दा धेरै कमाएको छ।