दाङको तुलसीपुरमा एकैसाथ दुई वटा आधुनिक सिनेमा हल निर्माण हुने भएका छन्।
दुवै सिनेमा हलहरू तुलसीपुर उपमहानगरपालिका–६ भित्र निर्माण हुने भएका हुन्।
एउटा बरूवा गाउँमा र अर्को रजौरामा गरी एकै साथ दुई वटा सिनेमा हल निर्माण गर्ने गरी दुबै टिमले मंसिरमै काम सुरू गरेका छन्।
बरूवा गाउँमा झन्डै २० करोड लगानीमा आधुनिक सिनेमा हल निर्माणका लागि मंसिरमा शिलान्यास गरिसकेको ‘अल नेपाल सिनेमा’ (एएनसी) टिमले बुधबार पत्रकार सम्मेलन गरी आगामी दसैं अगावै निर्माण कार्य पूरा गरी सिनेमा हल सञ्चालनमा ल्याइने जानकारी दिएको छ।
यो सिनेमा हल गत वर्ष मात्रै झन्डै साढे चार करोड खर्चेर ‘कर्मा’ नामक चलचित्र निर्माण गरेको टिमले संयुक्त लगानीमा निर्माण गर्न थालेको हो।
तुलसीपुरमा घर भई माओवादी द्वन्द्व चरम उत्कर्षमा पुग्दै गर्दा प्रहरी निरीक्षकको जागिर छोडेर अमेरिका बस्दै आएका तथा विभिन्न गीतहरू पनि लेखेका बसन्त लामिछाने र अमेरिका बस्दै आएका अर्का युवा अनिल बुढाथोकीले मिलेर सिनेमा हलमा लगानी गर्न थालेका हुन्।
दुबै जना लगानीकर्ताले आफ्नै जन्मथलोको विकासमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सिनेमा हल निर्माण गर्न थालेको बताए।
‘हाम्रो उद्देश्य नेपाल आउजाउ गर्न सहज होस् भन्ने पनि हो,’ वसन्त लामिछानेले भने, ‘लगानी भए मातृभूमि र समाज प्रतिको दायित्वले आइरहन प्रेरित गरोस् भन्ने पनि हो।’
पत्रकार सम्मेलनमा सिनेमा हल निर्माण अभियान थालेका लामिछाने र बुढाथोकीले हाल संरचना निर्माण पूर्व स्वायल टेष्टको काम भइरहेको तथा अबको दुई दिनभित्रै निर्माण पक्षसँग अन्तिम सम्झौता हुने बताए।
नेपालगंजमा क्यूएफएक्स सिनेमा हल निर्माण गरेको टोलीले नै तुलसीपुरमा आधुनिक सिनेमा हल निर्माणको जिम्मा लिएको छ।
अत्याधुनिक दुई वटा हल निर्माण हुने र त्यसमा करिब पाँच सय हाराहारीमा मानिसले एकैसाथ सिनेमा हेर्न मिल्ने उनीहरूले बताएका थिए।