नेपाली फिल्मका लागि यस वर्षको दसैं गत वर्षजति उत्साहजनक बन्न सकेन।
उत्साह कम देखिए पनि व्यापार भने पूर्ण रूपमा निराशाजनक भने थिएन। फूलपातीका दिन एकसाथ 'बलिदान', 'हरिबहादुरको जुत्ता' र ‘माइतीघर’ प्रदर्शनमा आएका थिए। यीमध्ये 'बलिदान' ले ५ करोडमाथिको व्यापार गर्यो। अन्य दुई फिल्मको व्यापार ५ करोड नजिक रह्यो।
दसैंपछि असोज ३१ गते रिलिज 'जेरी अन टप' ले भने बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो।
अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत उक्त फिल्मले चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार नेपालमा १२ करोड २६ लाख रूपैयाँभन्दा माथि ग्रस कमाइ गरेको छ। सुयोग गुरूङ निर्देशत फिल्मले करिब आधा दर्जन सिनेमा हलमा प्रदर्शनको ५१ औं दिन समेत मनायो।
त्यसपछि कात्तिक १४ गते रिलिज भएको दीपक आचार्य निर्देशित 'परान' ले आक्रामक व्यापार गर्यो। सुरूका दिनमा दर्शक संख्या कमजोर देखिए पनि बलियो 'वर्ड अफ माउथ' का कारण फिल्मको व्यापार क्रमशः बढ्दै गयो। हाल प्रदर्शनको ५१ औं दिन नजिक पुगेको फिल्मले १७ करोड ३९ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडालगायत कलाकारको अभिनय रहेको ‘परान’ अहिलेसम्मको अवस्थामा यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म समेत हो।
'परान' पछि कात्तिक २१ गते रिलिज भएका ‘जारी २’ र ‘मन बिनाको धन’ को व्यापार पनि सन्तोषजनक रह्यो। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' ले ६ करोड २३ लाख रूपैयाँ ग्रस कमाइ गर्यो भने टंक बुढाथोकी निर्देशित 'मन बिनाको धन' ले ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी व्यापार गरेको छ।
तर त्यसयता रिलिज भएका नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न सकेनन्। मंसिरमा 'हर्ष', 'अभिमन्युः च्याप्टर १', 'पीआर' र 'लोकन्ती' लगायत फिल्महरू प्रदर्शनमा आए। यद्यपि, यी कुनैले पनि ३० लाख रूपैयाँको आँकडा पार गर्न सकेनन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको 'सिनेपाः बक्स अफिस' रिपोर्टअनुसार मंसिर १२ गते रिलिज 'हर्ष' ले २८ लाख ७६ हजार रूपैयाँ मात्रै कमाएको छ। त्यस्तै, मंसिर १८ गते रिलिज 'अभिमन्यु' को व्यापार २१ लाख १० हजार रूपैयाँमा सीमित छ।
गत शुक्रबार रिलिज भएका फिल्महरूले पनि दर्शक तान्न नसकेको देखिन्छ। शो संख्या र अकुपेन्सी हेर्दा शोभित बस्नेत निर्देशित 'पीआर' को व्यापार पनि निकै कमजोर रहेको स्पष्ट हुन्छ। अब पुसमा केही आशा गरिएका फिल्महरू रिलिज हुँदैछन्।
यही शुक्रबार अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म 'झरीपछिको इन्द्रेणी' प्रदर्शनमा आउँदैछ। उक्त फिल्मले दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको छ। तर यसको व्यापार कस्तो हुन्छ? त्यो चाहिँ फिल्म रिलिजपछि मात्र प्रस्ट हुनेछ।