बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा पतेही नेपाल आउने भएकी छन्। उनी नेपाली दर्शकलाई नचाउन काठमाडौं आउन लागेकी हुन्।
आउँदो जेठ ३ (मे १७) मा बौद्धस्थित हायात ग्राउण्डमा 'नोरा पतेही लाइभ इन नेपाल' आयोजना हुने भएको छ।
वल्डवाइड फिल्मस् नेटवर्क प्रा.लि.को आयोजनामा यो कार्यक्रम हुन लागेको हो। शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुने कार्यक्रमलाई मनु मिडिया प्रालिले व्यवस्थापन गर्दैछ।
इभेन्ट म्यानेजर मनिष कार्कीका अनुसार मुम्बईबाट नोरासहित २० जनाभन्दा बढी डान्सरहरू प्रस्तुतिका लागि नेपाल आउनेछन्।
पूर्ण मनोरञ्जनसहितको कार्यक्रम हेर्न नेपालीसँगै सीमावर्ती क्षेत्रका भारतीय दर्शकहरू समेत आउने आयोजकको अपेक्षा छ।
फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएका आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार नोरा फतेही लाइभ इन नेपालमा केही चर्चित नेपाली कलाकारहरूको समेत प्रस्तुति रहनेछ।
नोराले बलिउडमा दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच जस्ता चर्चित गीतहरूमा नृत्य गरेकी छन्।
'नोरा पतेही लाइभ इन नेपाल' मा इन्टरनेशनल कोर्डिनेटरका रूपमा युद्ध बाँनिया र डिजिटल मार्केटिङको काम मनिष खबतिले हेरिरहेका छन्।
टिकटको मूल्य २ देखि १६ हजार रूपैयाँसम्म तय छ। आइतबारदेखि खल्ती एपमार्फत टिकट काट्न सकिने आयोजकले जनाएको छ।