फिल्म 'परान' ले देशभरका ३० वटाभन्दा बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।
कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार ५१ औं दिन मनाएको हो।
सो अवसरमा फिल्मको टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो। निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा वितरण गरिएको हो। निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषण पनि गरिने बताए।
पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दीक्षा चापागाईंले 'परान' टिमलाई धन्यवाद दिइन्। उनले केही साताअघि आफ्नो आश्रममा आश्रित बालबालिकाहरूलाई ‘परान’ देखाएकी थिइन्। निर्देशक दिपक प्रसाद आचार्य ५१ दिनसम्म पनि 'परान' लाई दर्शकले दिएको मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताए।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।
निर्माता रञ्जित आचार्यले फिल्मले ५१ दिन पूरा गर्दा १८ करोड रूप्रयाँ ग्रस कलेक्सन गरेको बताए। यो संगै 'परान' नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ।
रञ्जित आचार्यसँगै शेखर गोल्छा फिल्मका निर्माता हुन्।