सफल फिल्म 'घरज्वाइँ' निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म 'मितज्यू' को कार्यशाला (वर्कसप) सुरू गरेका छन्।
शनिबारबाट सुरू वर्कसपमा तेरिया फौजा मगर, पुश्कर गुरूङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरू सहभागी छन्।
फिल्ममा कलाकारहरूले निर्वाह गर्ने भूमिकालाई सहज बनाउन वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार वर्कसप केही दिनसम्म चल्नेछ।
फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार फिल्मका कलाकारहरूलाई आफ्नो भूमिकाबारे थप जानकारी दिनु वर्कसपको मुख्य उद्देश्य हो।
माघको पहिलो साताबाट फिल्मको छायांकन थालिने उनले बताए। उनले भने, 'कलाकारहरूले आफ्नो भूमिका बुझेपछि छायांकनमा सहज हुन्छ। उनीहरूले फिल्मको कथा र आफ्नो पात्रलाई बुझेपछि अभिनय गर्न पनि सहज हुनुका साथै छायांकन समय र खर्चसमेत कम हुन्छ। स्पटमै पुगेर एक्सनकट गर्दा सोचेअनुसारको अभिनय नआउन सक्छ, त्यसैले वर्कसप आवश्यक मानेका हौं।'
'मितज्यू' मा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुश्कर गुरूङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरूण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर(खबपु)लगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मको छायांकन शिशिर विशङखेले गर्दैछन्। रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ।
आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनका लागि यसको प्रदर्शन मिति तय छ।