किम्फ विशेषः
२४ वर्षअघि लेखक/पत्रकार बसन्त थापाले पत्रकारिताबाट विश्राम लिएका थिए। हिमाल पत्रिकामा लामो समय सम्पादकको भूमिकामा काम गरेका उनी त्यसयता पत्रकारिताबाट टाढा रहे। लेखन भने उनीबाट टाढा भएन।
अहिले उनी अर्को भूमिकाबाट विश्राम लिँदैछन्- काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) को अध्यक्षको भूमिकाबाट।
उनलाई थाहा छ, लेखनजस्तै फिल्म र किम्फसँगको दूरी टाढा हुने छैन।
यो महिना किम्फको हो। मंसिर २२ देखि २६ सम्म किम्फका फिल्म काठमाडौंमा प्रदर्शन हुँदैछन्। आफूले सुरूआती चरणदेखि नै हुर्काउँदै २० औं संस्करणसम्म पुर्याएको किम्फबाट विश्राम लिँदा केही भावुक सुनिन्छन् थापा।
'मैले यहाँ फ्रन्टम्यानजस्तो भई सधैं सक्रिय रूपमा काम गरेँ। अध्यक्ष (चेयरम्यान) भए पनि मेरो काम चेयर (कुर्सी) मा बस्ने मात्र भएन,' उनले भने, 'दुई दशक लामो मेरो सक्रिय र कार्यकारी भूमिकाबाट म अब टाढा हुँदैछु।'
किम्फ २२ वर्षअघि सुरू भएको हो। पत्रकारिता छाडेकै वर्ष हिमाल एसोसिएसनसँग जोडिएका साथीहरूबीच फिल्म महोत्सव आयोजना गर्ने कुरा हुन थालेको थियो। ६–७ जना साथीहरू थिए जसलाई हिमाल, हिमालका कथा र हिमाल चढ्नेहरूबारे चासो थियो।
हिमालै हिमालको देश भएर पनि नेपालमा हिमालका फिल्म देखाइँदैन थियो। अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत देशमा दशकौंदेखि हिमालका फिल्म देखाइन्थे। त्यही भएर हिमाल नामक पत्रिकामा काम गरेका उनीहरू हिमालबारे फिल्म देखाउनु पर्छ भनेर अग्रसर भए।
'हामीलाई लाग्यो कि हाम्रो देशमा पनि हिमालबारे फिल्म हुनु पर्छ,' थापाले भने, 'नेपालीहरूलाई नै हिमाल र पर्वतारोहणबारे जानकारी थिएन। यो एउटा हिमाल चिनाउने र त्यसको महत्त्व र जगेर्नामा झक्झक्याउने माध्यम पनि थियो।'
थापाका अनुसार पहिला–पहिला काठमाडौंका मान्छे धेरै जाने मनकामना हुन्थ्यो। त्यहाँभन्दा धेरै पुगे पोखरासम्म। विदेश गएका कति नेपाली पोखरासम्म पनि नपुगी त्यहाँ पुगेको उनी सम्झन्छन्। घुम्नु पर्छ भन्नेमा मान्छेको चासो नै थिएन।
हिजोआज त घुम्ने 'ट्रेन्ड' नै छ। मान्छेहरू हाइकिङ, ट्रेकिङदेखि पर्वतसम्म आकर्षित छन्। शेर्पाले मात्र हिमाल चढ्ने हो भन्ने धारणा परिवर्तन भएको छ। सामान्य मान्छेले पनि हिमाल चढ्ने आकांक्षा राख्छन्। सफल पनि भइरहेका छन्।
'अहिले त यहाँ पुग्यौं, त्यहाँ पुग्यौं भनेर फोटो हाल्नु हुन्छ। बाहिरीसँगै आन्तरिक पर्यटनमा पनि सायद फिल्म महोत्सवले केही भूमिका खेलेको छ,' थापाले भने।
सन् २००० मा किम्फको सुरूआत रसियन कल्चर सेन्टरमा भएको थियो। त्यति बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए। त्यसयता दुई–दुई वर्षको अन्तरालमा महोत्सव हुन्थ्यो। सन् २००७ देखि महोत्सव रसियन कल्चरबाट सभा गृह पुग्यो र वार्षिक रूपमा हुन थाल्यो।
सभा गृहमा देखाउने भन्ने भएदेखि आफूलाई हरेक रात त्यहाँ कसरी देखाउने भनेर छटपटी भएको थापा सम्झन्छन्।
'रसियन कल्चरमा मुश्किलले दुई सय जना अट्थे। सभा गृहमा करिब सात सय। साढे दुई गुणा ठूलो क्षमता भएको हलमा मान्छे कसरी भर्ने भनेर निकै चिन्ता लगेको थियो,' उनले भने, 'तर उद्घाटनमै मान्छे टनाटन भए। अनि यहाँ पनि आउँदा रहेछन् भनेर मन ढुक्क भयो।'
अर्को यस्तै रोचक घटनाका रूपमा उनी सन् २०१५ लाई सम्झिन्छन्। त्यो बेला देश भूकम्प र नाकाबन्दीबाट गुज्रिरहेको थियो। देश नै दुःखमा भएका बेला के फिल्म देखाउनु भन्ने किम्फका टोलीलाई लागेको थियो। तर दुःख भुलाउन कलाले सहयोग गर्छ भन्ने अर्कोतिर थियो। त्यस वर्ष 'अनब्रोकन स्पिरिट' शीर्षकमा फिल्महरू देखाइए। नसोचेको रूपमा मान्छेहरू धेरै आए।
'अब यो वर्ष म जाँदा पनि राम्रो होस् भन्ने कामना छ,' थापाले भने।
थापा आफ्नो जीवनलाई चाइनिज-चेकर खेलसँग दाँज्छन्। सिधा रेखामा चल्न नसकेको, सधैं बांगोटिंगो बाटामा हिँडेको। 'जिन्दगीः एक चाइनिज चेकरको गेम' शीर्षकको लेख पनि लेखेका उनी विभिन्न बाटोमा हिँड्दै, विभिन्न परिचयमा अस्थिर हुँदै लेखन र फिल्ममा स्थिर भएको बताउँछन्।
धरानमा जन्मे–हुर्किएका उनी विद्यार्थी कालमा कविता, लेख, रचनाहरू लेख्थे। २००४ सालमै खुलेको नेपालको पुरानो पुस्तकालय नजिकै हुर्किएका उनी साहित्यसँग नजिक भए। धरानबाट निस्किने 'हिमालचुली' साप्ताहिकका सम्पादकसँगको चिनजानका आधारमा उनी पत्रकारितासँग नजिकिए। पछि मदनमणि दीक्षितको 'समीक्षा साप्ताहिक' मा दुई वर्ष काम गरे। बीचमा ट्राभल एजेन्सी, कार्गो, ट्रेकिङ कम्पनी, गेस्ट हाउस लगायतमा काम गरे। यही कारण उनले आफ्नो जीवनलाई चाइनिज चेकरसँग दाँजेका हुन्।
'हिन्दीमा पापड बेल्ने भन्छ नि, त्यस्तै अनेक गरेँ बीचमा,' उनले भने।
सन् १९९१ मा हिमाल एसोसिएसनमा जोडिएपछि उनी आधिकारिक रूपमा पत्रकार भएर काम गरे। त्यहाँ हरेक अंकमा उनको 'ऋतुविचार' शीर्षकमा लेख आउँथ्यो। पत्रकारिता छाडेपछि हिजोआज अनुवाद र लेखनमा लागेका छन्।
पत्रकारितापछिको एउटा समय यस्तो भइदियो, उनलाई हरेक दसैंको समयमा लेख्न विभिन्न पत्रपत्रिकाबाट आग्रह आउँथ्यो। उक्त आग्रह नकार्न नसकेर उनी लेख्थे। हरेक दसैंमा लेख आउने भएपछि कतिले उनलाई दसैं लेखक पनि भनेर चिन्न थाले।
'त्यही ट्यागबाट बाहिर निस्किन अनि अरू बेला पनि लेख्न सक्छु भनेर हिजोआज झनै बढी लेख्न खोज्दै छु,' उनले भने।
फिल्मसँग नजिक पनि उनी धरान छँदै भएका थिए। हिन्दी फिल्म त घर अनि साथीभाइका हेरिहाल्थे। अंग्रेजी फिल्म पनि उनले हेर्न पाए। धरानको घोपा क्याम्पमा त्यति बेला ब्रिटिसहरूको भर्ति हुन्थ्यो। त्यहाँ काम गर्नेहरूलाई हप्तैपिच्छे ब्रिटिस र अंग्रेजी फिल्म देखाइन्थ्यो। साथीको त्यहाँ चिनजान भएकाले उनी साथीहरूसँग आठ-दस किलोमिटर हिँडेर हप्तैपिच्छे फिल्म हेर्न पुग्थे।
'सुरूमा त फिल्म बुझिँदैन थियो। बिस्तारै बुझिने र कलाकारहरू चिन्ने भइयो,' ५०–६० वर्षअघिको घटना सम्झिँदै थापाले भने, 'पहिले फिल्मको भोको थिएँ। जस्तो पनि फिल्म हेर्थेँ। अहिले सजिलै हेर्न पाइन्छ। त्यही भएकाले हिजोआज छानेर हेर्छु।'
त्यही फिल्म र साहित्यतर्फको रूचिले पनि फिल्म यस्तो हुनु पर्छ भनेर किम्फमा छुट्याउन सहज भएको उनी बताउँछन्।
यतिका वर्ष फिल्म महोत्सव सञ्चालन गर्दा किम्फको सुरूदेखि अन्तिमसम्मैको समस्याका रूपमा आर्थिक पक्षलाई उनले देखेका छन्।
'बाहिरतिर यस्ता महोत्सवलाई भनेर पर्वतारोहण सम्बन्धी काम गर्ने संस्था, महानगरपालिका र विभिन्न संस्था मिलेर कोष नै स्थापना गरेका हुन्छन्। हाम्रोतिर भने महोत्सवलाई भनेर हरेकपटक प्रायोजक खोज्नु पर्छ। कुनैसँग पनि लामो समयसम्म सम्झौता नभएकाले सुरूदेखि ढुक्क भएर काम गर्न सक्दैनौं,' उनले भने।
थापाका अनुसार फिल्म, साहित्य, संगीत जस्ता कलाका गतिविधि एउटा सुन्दर समाज निर्माण र देशलाई अघि बढाउने चाहिने कुरा हुन्। महोत्सवमा विभिन्न देशका फिल्म देखाइने र विभिन्न देशबाट फिल्मका मान्छेहरू आउने भएकाले यसले पर्यटनमा पनि सहयोग पुर्याउँछ।
'फिल्म, नाटकहरू गरेर के फाइदा भन्ने मान्छे पनि होलान्! तर एउटा जागरूक र सचेत समाज निर्माणमा यसको ठूलो हात हुन्छ। यिनीहरूलाई बचाइराख्न राज्यको सहयोग चाहिन्छ,' उनले भने।
२० औं संस्करणमा आइपुग्दा किम्फले हजारौं फिल्म देखाइसक्यो। सयौं फिल्म निर्देशक जन्माइसक्यो। फिल्मसँगै हुर्किएको र फिल्मकै महोत्सवमा काम गर्दा बेलाबखत थापालाई पनि फिल्म बनाउने सोच नआएको होइन। तर यतिका वर्षमा आएर उनी आफ्नो जीवनलाई 'एक्सपेरिमेन्ट' गर्न चाहँदैनन्। बरू आफैंलाई समय दिन चाहन्छन्।
'कति धेरै किताब थुपारिरहेको छु। ती पढ्न बाँकी छ। अझै धेरै लेख्नु छ,' उनले भने, 'धेरै ठाउँ घुम्नु छ। हाम्रो देश सानो भए पनि घुमिनसक्नु छ। स्वास्थ्यले दिएसम्म घुम्न चाहन्छु। अनेक महत्त्वपूर्ण काममध्ये घुम्नु पनि एक हो भन्ने लाग्छ।'