शुक्रबारदेखि प्रदर्शनमा आएको सामाजिक फिल्म 'महाभोज' ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरूले यसको खुलेर तारिफ गरिरहेका छन्।
सहकारी ठगीको सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले 'महाभोज' को प्रशंसा गरेका छन्। प्राप्त सकारात्मक प्रतिक्रियाले आगामी दिनमा फिल्मको व्यापारमा समेत बढोत्तरी हुने विश्वास निर्माण पक्षको छ।
यसै क्रममा, सोमबार साँझ काठमाडौंमा नेपाली फिल्म, साहित्य र अन्य क्षेत्रका व्यक्तित्वहरूले समेत ‘महाभोज’ हेरेका छन्। कलाकारहरू हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतले फिल्म हेरेपछि यसले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको प्रशंसा गरे।
साहित्यकार अमर न्यौपानेले फिल्मले कानुनी राज्यको चुनौतिमाथि प्रश्न उठाएको बताए।
उनले भने, 'यत्रो संघर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौं। हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौं, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन। पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन्। यत्रो ठूलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो फिल्मले उठाउँछ।'
अभिनेता हरिवंश आचार्यले फिल्मले जनताको पैसाको दुरूपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए।
उनले भने, 'जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर फिल्ममा राम्रोसँग देखाइएको छ।'
अभिनेता सरोज खनालले फिल्मको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, 'गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठूलो हत्यारा हुन्छ भन्ने ‘महाभोज’ ले दिएको ठूलो सन्देश हो।'
अभिनेता जितु नेपालले फिल्मको विषयवस्तुको मार्मीकता र यथार्थपरकताको प्रशंसा गरे। 'यसले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मीक छ। यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ। र, यो फिल्म अत्यन्त रमाइलो पनि छ,' उनले भने।
अभिनेत्री परीक्षा लिम्बुले फिल्मले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन्।
'मलाई एकदमै यथार्थ महशुस भयो। एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो फिल्मले देखाएको छ,' उनले भनिन्।
निर्देशक नवीन चौहानले 'महाभोज' का निर्देशक दिनेश राउतको कामको प्रशंसा गरे।
उनले भने, 'महाभोजलाई मैले उहाँ (दिनेश राउत) को आजसम्मकै उत्कृष्ट फिल्मको रूपमा पाएँ।'
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो।
हिमाल कडरियाले निर्माण गरेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायत कलाकारहरूको अभिनय छ।