सानैदेखि अरूलाई हँसाउन सिपालु थिए लेखमणि त्रिताल। उनले हँसाउन केही गर्नै पर्दैन थियो। शिक्षकले उनलाई कक्षाअगाडि उभ्याउँदा मात्रै पनि उनका साथीहरू गलल हाँस्थे। स्कुल पढ्दादेखि नै उनी आफैं नाटक लेखेर प्रस्तुति पनि दिन्थे।
शिक्षकहरूले पनि 'तँ त कलाकार बन्नुपर्छ' भनेर हौस्याइदिन्थे।
लेखमणिलाई पनि लाग्थ्यो- हो म त कलाकारै बन्नु पर्छ।
यही अडानमा पखेटा हाल्दै उनले उडान भर्ने कोशिस गरे। अरूलाई हँसाउन सक्ने आफ्नो खुबीलाई उचाइ दिन केही साथीहरूसँग मिलेर 'नेपग्याजम' नामक युट्युब च्यानल खोले। सन् २०१८ मा आफ्नो पहिलो स्ट्यान्ड अप कमेडी भिडिओ अपलोड गरे- भ्यालेन्टाइन्स स्पेसल।
पहिलो भिडिओबाटै उनले नसोचेको सफलता पाए। दर्शकले उनको कमेडी रूचाए। त्यसपछि उनले कमेडी गर्दै गए। आफ्नो टोली बढाउँदै लगे। यसै क्रममा उनको भेट भयो सीता न्यौपानेसँग।
(यो पनि पढ्नुहोस्ः 'मेरो नामजस्तै शालीन छैन म')
चितवनकी सीतालाई कमेडीमा रूचि थियो। आफ्नो रूचिको कुरा भएकाले उनी नेपग्याजमको स्ट्यान्ड अप कमेडीलाई लामो समयदेखि नियालिरहेकी थिइन्।
'ओहो! केटाहरूले राम्रो गरिरहेका छन्। म पनि एउटा कन्टेन्ट लिएर जानुपर्यो भनेर अडिसनमा गएँ। अडिसन लिने बेला लेखमणि पनि थियो, अरू साथीहरू पनि थिए,' सीताले सम्झिइन्।
यसरी नेपग्याजममा सहकार्य थालेका हुन् उनीहरूले। सुरूमा छुट्टाछुट्टै स्ट्यान्ड अप कमेडी गरेर आ-आफ्ना कला देखाउँथे। दुबैलाई दर्शकले रूचाएका थिए। एउटै प्लेटफर्ममा काम गर्दै जाँदा उनीहरूबीच दिदीभाइको जस्तो सम्बन्ध कायम भयो।
सीता भन्छिन्, 'उमेरमा म दिदी भए पनि काममा लेखमणि सिनियर थियो। मैले कस्तो कमेडी गर्दा राम्रो हुन्छ भन्नेमा उसले सुझाउँथ्यो।'
यही क्रममा एकदिन लेखमणिले 'रोस्ट एन्ड र्याप ब्याटल' गरौं भने। सीताले नमान्ने कुरै थिएन।
स्टेजबाहिर मिल्ने साथी उनीहरू रोस्ट एन्ड र्याप ब्याटलमा एकअर्काका प्रतिस्पर्धी बने। 'दिदीभाइ' को यो ब्याटल दर्शकले निकै रूचाए। अहिलेसम्म उनीहरूको सहकार्यमा बनेको भिडिओमा सबभन्दा बढी भ्यूज पाउने ब्याटलकै हो।
यो पनि पढ्नुहोस्ः रमेश अंकलको छोरो र राष्ट्रिय दिदीको भिडन्त!
नयाँनयाँ आइडियामा काम गर्न रूचाउने नेपग्याज्म टोली केही समयअघि पूर्व घुम्न गएको थियो। त्यही क्रममा होटल सहानीमा खाजा खान छिरेका थिए।
खाजा घरकी दिदीलाई 'खाजा के के छ' भनेर सोधे।
जवाफ आयो- चिकेन भुजा, फिस भुजा, मटन भुजा।
'भेजमा के छ' भनेर उनीहरूले सोध्दा साहुनी दिदीले भनिदिइन्- भुजा छ नि।
साहुनीको बोल्ने शैली लोकमणिलाई मनपर्यो। यही शैलीलाई उनले नयाँ आइडियामा बदल्ने सोचे।
अनि सुरू भयो 'नाटकै हो'। नेपग्याजमको आधिकारिक च्यानलमै सार्वजनिक यो कमेडी कार्यक्रमको पहिलो भाग थियो लोकमणि र सीताको अभिनय रहेको 'खाजा घर'।
पहिलो प्रयास सफल भयो। सीता र लेखमणिको जोडीले दर्शकलाई भरपुर मनोरञ्जन दियो। नाटकै होका विभिन्न भागमा उनीहरूले विभिन्न भूमिका निर्वाह गरे। सीता र लेखमणिको जोडीलाई दर्शकले रूचाए, अनि उपनाम दिए 'सीले'।
सीता र लेखमणि 'सीले' जोडी बनेर अहिले नाटकै हो मार्फत आफूलाई स्थापित गर्दै लगेका छन्।
'पहिलो कन्सेप्ट होटलकी दिदीबाट प्रभावित भए पनि हामी पहिल्यैदेखि मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय) बाट प्रभावित थियौं,' लेखमणि भन्छन्, 'हँसाउन निकै गाह्रो हुन्छ। मान्छे एउटै कुरामा दोस्रो पटक हाँस्दैनन्।'
नाटकै होमा हरेक हप्ता फरक भूमिकामा देखिनु उनीहरूका लागि चुनौती हो। हरेक दिन फरक विषय र सामग्री लिएर प्रस्तुति दिन हम्मे पर्छ।
'कति दिन त केही कन्सेप्ट फुर्दैन। कहिलेकाहीँ एकछिनमै फुर्छ,' लेखमणि भन्छन्।
कहिले गाह्रो, कहिले सजिलो, नाटकै होलाई उनीहरूले हरढंगले मनोरञ्जनात्मक बनाउने प्रयास गरिरहेका छन्।
सीतालाई स्ट्यान्डअप कमेडीका तुलनामा नाटकै होमा काम गर्न रमाइलो लाग्छ।
'स्ट्यान्डअप कमेडीमा सबै एक्लै गर्नुपर्छ। आफैं लेखेर प्रस्तुति दिनुपर्छ,' उनी भन्छिन्, 'नाटकै होमा टिमसँग बसेर छलफल गरिन्छ। काम गर्न सहज हुन्छ। सामग्री तयार पार्दापार्दै पात्रमा भिजिन्छ।'
उनीहरू १८ देखि ४० वर्षको उमेर समूहलाई लक्षित गर्दै भिडिओ बनाउँछन्।
'हामीले जे देखेका छौं, जे भोगेका छौं, त्यही विषयलाई प्रस्तुत गर्छौं,' लेखमणिले भने, '६०/७० वर्षका आमाबुबाले पनि राम्रो भिडिओ बनाएछौ भन्दा खुसी लाग्छ। रमाइलो मानेर हेरिदिनुभएको छ।'
स्ट्यान्डअप कमेडी र अभिनयसँगै रोस्ट ब्याटल पनि अगाडि बढाइरहेका छन् उनीहरू। एकअर्कालाई उडाएर गरिने ब्याटल सहज हुँदैन। प्रतिस्पर्धीका शब्दले बिझाउन सक्छ। रमाइलोकै लागि भने पनि आफूलाई हेपेको-होच्याएको पचाउन मुश्किलै हुन्छ।
मान्छेको स्वाभाविक प्रकृतिबारे सीता हाँस्दै सुनाइन्, 'सुरूसुरूमा मलाई आउने पन्चलाइन पचाउनै गाह्रो हुन्थ्यो। मलाई हेप्यो भन्ने लाग्थ्यो। बिस्तारै यिनीहरूले भनेर के हुन्छ, तिमीहरूले हेपेभन्दा झन् धेरै हेप्छु भन्दै मन बुझाएँ।'
लेखमणि भने कलाकारले आफूमाथि आएको पन्चलाइन मनमा लिन नहुने बताउँछन्।
'यस्ता कुरा मनमा लिन थाल्यो भने कलाकारले आफूमा सुधार ल्याउन सक्दैन। कमेडियन भएपछि आफूमाथि आएको पन्चलाइन पनि हाँसेर स्वीकार्न सक्नुपर्छ,' लेखमणिले भने, 'तर कतिसम्म उडाउने भन्ने चाहिँ हुन्छ, हेपेर अपच हुनेगरी उडायो भने राम्रो होइन। त्यसैले हरेक कुरा दायरामा हुन आवश्यक छ।'
कमेडीमा भविष्य बनाउन कम्मर कसेर लागि परेका लेखमणि र सीता फिल्ममा पनि अभिनय गर्न तयार छन्। प्रस्ताव आए फिल्म खेल्न रूचि भएको बताउँछन्। तर नाटकै हो र स्ट्यान्डअप कमेडीमा भन्दा फरक रूपमा देखिने चाहना उनीहरूको छ।
लेखमणि र सीता भन्छन्, 'फिल्म उद्योगमा पनि कमेडियनहरूले राम्रो स्थान पाएका छन्। कमेडीबाटै आफ्नो परिचय बनाएका मदनकृष्ण र हरिवंश फिल्म उद्योगमा जमिरहनुभएको छ भने हाम्रो भविष्य पनि राम्रै होला भन्ने आशा छ।'
राम्रो सोच लिएर आउनेलाई कमेडी लाइनमा धेरै अवसर रहेको उनीहरू बताउँछन्।
'मेहनत गर्न छाड्नुहुन्न, सफल भइन्छ। तर अपाच्य शब्द प्रयोग गरेर सस्तो लोकप्रियताका लागि आउनुभयो भने त कसैको केही लाग्दैन। समाज हेरेर हुन्छ, जबरजस्ती गर्न खोजेर हुँदैन,' लोकमणिले भने।
यसैमा थप्दै सीताले भनिन्, 'समाजको फोहोर सफा गर्न नसके पनि थप फोहोर नगरौं भनेर हामी लागिरहेका छौं। नराम्रा कुरालाई प्रोत्साहन नगरौं। पारिवारिक वातावरणमा हाम्रो कार्यक्रम हेर्न मिलोस् भन्ने हो।'
नाटकै हो टिमको यही सोचले होला, सीले जोडीको कमालले हरेकपटक दर्शकको मन जित्न चुकेको छैन।
सबै तस्बिर र भिडिओ- सुसन चौधरी/सेतोपाटी